चिनियाँ ठेकेदारले निर्माण गरिरहेका जुनसुकै नेपाली परियोजनामा होङ्सीबाहेक अन्य कम्पनीका सिमेन्ट प्रयोग निषेध गरिएको छ। नेपालमा चिनियाँ ठेकेदारले ठुल्ठूला परियोजना बनाइरहेका छन्। त्यहाँ होङ्सीबाहेक अन्य ब्रान्डका सिमेन्ट प्रयोग हुँदै हुँदैनन्। चिनियाँ ठेकेदारले बनाएर भर्खरै औपचारिक उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा होङ्सी सिमेन्टमात्र प्रयोग भएको छ।
७० प्रतिशत चिनियाँ लगानी रहेको होङ्सी सिमेन्टको बिक्री निरन्तर कमी हुँदै गएपछि चिनियाँ दुताबासले नेपालमा रहेका ठेकेदारलाई चिनियाँ लगानीमा खुलेको होङ्सी सिमेन्ट प्रयोग गर्न निर्देशन दिएको हो् ।



पोखरा विमानस्थल निर्माण क्रममा १० हजार टन सिमेन्ट प्रयोग भएको छ। त्यो सबै होङ्सीका उत्पादन भएको होङ्सी आफैंले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। होङ्सीले पुस १७ बाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बधाइ दिँदै आफ्नो उत्पादन १० हजार टन प्रयोग भएको खुलाएको हो।
नेपालस्थित चिनियाँ दूतावासले ठेकेदारलाई दूतावासमै बोलाएर ‘होङ्सीबाहेक अरू कुनै पनि कम्पनीका सिमेन्ट प्रयोग नगर्नू’ भन्दै दबाब दिएपछि नेपाली उत्पादन चिनियाँ ठेकेदारका परियोजनामा प्रवेश निषेध भएका हुन्।नेपाली व्यवसायीले लामो कसरत गर्दा पनि पोखरा विमानस्थलमा होङ्सी एक्लैले राज गरेको हो।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि होङ्सी एक्लैले ८० प्रतिशत हिस्सा ओगटेको थियो। त्यहाँ कति सिमेन्ट प्रयोग भएको छ भन्ने नखुलाइए पनि सम्बद्ध व्यवसायीले कूल खपतको ८० प्रतिशत होङ्सी सिमेन्ट रहेको बताए।
त्यसबाहेक चिनियाँ ठेकेदारले नेपालभरि पूर्वाधार निर्माण परियोजना सञ्चालन गरिरहेका छन्। उनीहरू निर्माण कम्पनी हुन्। अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) मार्फत उनीहरू छानिएका हुन्। तर, यहाँ उनीहरूकै खर्चमा पूर्वाधार निर्माण भइरहे जसरी एउटामात्रै कम्पनीलाई प्रर्वद्धन गरिरहनु आपत्तिजनक विषय भएको नेपाली उद्योगीहरूको भनाइ छ।
होङ्सीले नेपाल सरकारका प्रभावशाली व्यक्ति, ठेक्का दिलाउने संस्था वा व्यक्तिलगायत सबैलाई प्रभावमा पारेर नेपाली उत्पादन पूर्णनिषेध गरिरहेको छ।
‘होङ्सीको सक्रियता कम भएका बेला चिनियाँ दूतावास आफैं सक्रिय हुने गर्छ,’ एक उद्योगीले भने, ‘चिनियाँ ठेकेदारहरूलाई चीन सरकारले हाम्रो देशको लगानी संरक्षण गर्नुपर्छ, होङ्सी हाम्रो लगानीको हो, सबैले त्यही सिमेन्ट प्रयोग गर्नू भनेर प्रष्ट निर्देशन दिएको छ।’
ती उद्योगीका अनुसार स–साना पुल, सडकदेखि ठूला पूर्वाधार निर्माणमासमेत होङ्सी सिमेन्टमात्रै प्रयोग हुने गरेको छ। निर्माण क्षेत्रमा चिनियाँ ठेकेदारको वर्चस्व रहेको र सबै ठेकेदारलाई अनिवार्य होङ्सी नै प्रयोग गर्न दूतावासबाट बारम्बार निर्देशन गइरहन्छ।
झन्डै एक वर्षदेखि अन्य सिमेन्ट उद्योगको व्यापारमा मन्दी आएका बेला पनि होङ्सीको ‘व्यापार ग्राफ’ उकालोतिर थियो।
होङ्सी चीनबाट बैंक ग्यारेन्टी ल्याएर नेपाली बैंकबाट ऋण लिएर खुलेको उद्योग हो। यसमा चिनियाँ पक्षको ७० प्रतिशत लगानी छ भने ३० प्रतिशत नेपाली साझेदारको छ।
होङ्सी सिमेन्ट कूल ३४ अर्ब लगानीमा खुलेको उद्योग हो। नेपालको सबैभन्दा ठूलो विदेशी लगानीको उद्योग भनिए पनि होङ्सीले चीनबाट एक पैसा पनि विदेशी लगानी ल्याएको छैन। चीनबाट बैंक ग्यारेन्टी ल्याएका भरमा नेपाली बैंकबाट ऋण लिएर खुलेको उद्योग हो।



