पुस २४,
नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले नेपालमा चीनको रणनीति साझेदारको नयाँ अध्याय थप्न आफूले भूमिका खेल्ने बताएका छन् । नेपालका लागि चीनको २२औं राजदूतको जिम्मेवारी सम्हाल्न आइतबार काठमाडौं आइपुगेका राजदूत छन्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालसँग नजिक रहेका काम गर्ने बताए ।
’नेपालमा सबै पक्षसँग नजिकको सम्बन्ध बनाउँदै काम गर्न तत्पर छु । ज्ञान तथा शक्तिलाई साथमा लिएर दुवै देशका जनताको लाभका लागि काम गर्नेछु । विकास तथा समृद्धिका लागि चीरस्थायी मित्रताको सहकार्यका लागि चीन–नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय संयुक्त रुपमा लेख्नेछौं‚’ उनले भनेका छन् ।



आफ्नो पहिलो सम्बोधनमा राजदूत छन्ले नेपालको मौलिक अपेक्षा, मित्रताको धरोहर, साझा विकास खोज्ने संयुक्त कार्य र नयाँ युगको साझा भविष्यका लागि नेपाल–चीनबीच निकट सम्बन्ध विकासका लागि चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताए ।
चीन र नेपाल दुवैतर्फ महाधिवेशन र आमनिर्वाचन मार्फत नयाँ नेतृत्व आएको भन्दै राजदूत छन्ले यस्तो परिस्थितिमा दुवै देशका नेतृत्वले आपसमा मिलेर काम गर्नेमा जोड दिनुपर्ने उल्लेख गरे ।
गत अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशनले महासचिव सी चिनफिङलाई केन्द्रमा राख्दै नयाँ केन्द्रीय कमिटीको नेतृत्व छनोट गरेको विषयलाई उल्लेख गर्दै चिनियाँ राजदूत छन्ले भने, ’चीनले सम्पूर्ण रुपमा आधुनिक समाजवादी देश निर्माण गर्ने र आधुनिकीकरणको उन्नत पुनरोदयका लागि नयाँ मार्ग अपनाएको छ ।’
संसारमा अहिलेको जस्तो परिवर्तन इतिहासमा कुनै पनि समयमा नभएको भन्दै चिनियाँ राजदूत छन्ले यसले सिर्जना गरेको चुनौती र अवसरहरूमा चीनले राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय अखण्डताको सुरक्षा, राष्ट्रिय परिस्थितिलाई अनुकूल हुने विकासको मार्ग खोज्ने, स्वतन्त्र आन्तरिक तथा बाह्य नीति खोज्नेलगायत कार्यमा नेपाललाई दृढतापूर्वक सहयोग गर्ने बताएका छन् ।
राजदुत छन् यसअघि चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत थिए । नेपालका लागि निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिनाअघि फर्किएपछि राजदूतका रुपमा छन् आएका हुन् । नयाँ राजदूत छन् नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञसमेत हुन् ।



