चिनियाँ दूतावासको स्पष्टीकरण ः नेपालका नेताहरुलाई भेटेको छैन

२०७९ पुष ९, शनिबार
पढ्ने समय : 2 मिनेट

पुस,९

नेपालस्थित चिनियाँ राजदूतावासले आफ्नो नियोगका कार्यवाहकले नेपाली नेताहरूलाई नभेटेको स्पष्टीकरण दिएको छ । शनिबार दूतावासले एक वक्तव्य जारी गर्दै बाहिर आएजस्तो आफ्नो नियोगका कार्यवहाक वाङ सिनले नेताहरूलाई नभटेको बताएका हुन् ।

‘चिनियाँ राजदूतावासका कार्यवाहक वाङ सीनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुुष्प कमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेको भन्ने खबर सार्वजनिक भइरहेको हाम्रो जानकारीमा आएका छन्,’ दूतावासले जारी गरेको छोटो इमेलमा उल्लेख छ, ‘ती सूचना गलत हुन् ।’
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच गृहकार्य चलिरहेका बेला विभिन्न शक्ति राष्ट्रहरू सक्रिय भइरहेका छन् । भारतीय राजदूत नविन श्रीवास्तव अमेरिकी राजदूत डीन थम्प्सनले नेताहरूसँग पछिल्लो समय बाक्लो भेटघाट गरिरहेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललगायत नेताहरूसँग भेट गरेर सरकार गठन र शक्ति बाँडफाँटका विषयमा उनीहरूले चासो राख्दै आएका छन् ।
निर्वाचनको मतगणना जारी रहेकै बेला प्रधानमन्त्री देउवाबाट भेटघाट सुरू गरेका भारतीय राजदूत श्रीवास्तवले एमाले अध्यक्ष शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । ओलीलाई भेट्न बालकोट पुगेका श्रीवास्तवले करिब एक घण्टाभन्दा बढी त्यहाँ बिताएका थिए । भेटका क्रममा ओलीसँग राजदूत श्रीवास्तवले चुनावमा विजयी भएको बधाई दिएका थिए भने नयाँ सरकार गठनका विषयमा समेत चासो राखेका थिए ।

राजदूतसँग भेट भएको भोलिपल्ट प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

श्रीवास्तवले एमाले अध्यक्ष ओलीलाई भेट्न जानुअघि सोही दिन नै उपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत भेट गरेका थिए । राजदूत श्रीवास्तवले त्यसअघि प्रधानमन्त्री देउवालाई मात्रै दुईपटक र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एकपटक भेट गरिसकेका छन् ।

साथै अमेरिकी राजदूत डिन थम्पसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
नेपालको आन्तरिक मामिलामा बाह्य मुलुकको हस्तक्षेप हुन्छ भन्ने गरिएकाले राजदूतहरूको अहिलेको सक्रियतालाई चासोका साथ हेरिएको छ ।

यही क्रममा शनिबार चिनियाँ दूतावासले आफ्नो नियोगका कार्यवाहकले ओली, प्रचण्ड र यादवसँग भेट नगरेको स्पष्टिकरण दिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय