कात्तिक २९
चिनियाँ राष्ट्रपति सी चिनिफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई ताइवान मामिलामा सीमारेखा पार नगर्न चेतावनी दिएका छन्।



बालीमा भएको तीन घण्टा लामो कुराकानीमा सीले सो चेतावनी दिएका हुन्।
‘चीनको केन्द्रीय हितको पनि केन्द्रमा ताइवानको प्रश्न छ र चीन–अमेरिका सम्बन्धको राजनीतिक आधार ताइवान नै हो। यो त्यस्तो पहिलो रेड लाइन हो, जसलाई कदापि पार गरिनु हुँदैन,’ चिनियाँ विदेश मन्त्रालयले सीलाई उधृत गरेको छ, ‘चीनलाई ताइवानबाट अलग गर्न खोज्ने जोकोहीले चिनियाँ राष्ट्रको आधारभूति हित उल्लंघन गर्छ। चिनियाँ जनताले त्यस्तो कदापि हुन दिने छैनन्।’
यसअघि बाइडेन ले पटकपटक यदि चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकी सेनाले सो टापुको रक्षा गर्ने अभिव्यक्ति दिएका थिए। यसलाई अमेरिकाको ताइवान नीतिमा आएको परिवर्तन ठानिएको थियो। किनभने अमेरिकाले ताइवानबारे ‘रणनीतिक अस्पष्टता’को घोषित नीति अपनाउँदै आएको थियो।
तर, राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने बाइडेनको अभिव्यक्ति फिर्ता लिने गरेको थियो। ह्वाइट हाउसले अमेरिकाको नीति उही रहेको जोड दिँदै आएको छ।
अमेरिकी राष्ट्रपति बाइडेनले सीसँग युक्रेन र उत्तर कोरियासम्बन्धी विषय उठाएका थिए। एजेन्सी



