रोहिङ्ग्या शरणार्थी समस्या समाधानका लागि भारतीय भूमिकाको अपेक्षा ः शेख हसिना

२०७९ भाद्र २०, सोमबार
पढ्ने समय : < 1 मिनेट

भदौ २०
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेको बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताएकी छिन् ।

रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको मातृभूमि फर्कने सुनिश्चितताका निम्ति बङ्गलादेशले अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क गरिरहेको बताउँदै उनले उक्त समस्या समाधानमा भारतको प्रमुख भूमिका हुनसक्ने उल्लेख गरेकी हुन् ।

सोमबारदेखि हुन लागेको आफ्नो भारत भ्रमणका सन्दर्भमा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले आफ्नो देशमा ११ लाख रोहिङ्ग्याको उपस्थितिले राज्य सञ्चालनमा चुनौती थपिएको चर्चा गर्दै रोहिङ्ग्या समस्या समाधानका निम्ति भारतसहित अन्य छिमेकी राष्ट्रहरूसँग पनि परामर्श भइरहेको जानकारी दिइन् ।
आफ्नो सरकारले मानवीय पक्षलाई दृष्टिगत गरी विस्थापित समुदायलाई आश्रय दिएको तथा उनीहरूको हेरचाह गरिरहको बताउँदै बङ्गलादेशकी प्रधानमन्त्रीले कोरोना महामारीको कठिन समय पनि मानवीय आधारमा सहयोग गरेको तथा सबै रोहिङ्ग्यालाई खोप उपलब्ध गराएको बताइन् ।

उनले प्रतिप्रश्न गरिन्, “तर उनीहरू कहिलेसम्म यहाँ बस्ने ?” चाँडोभन्दा चाँडो उनीहरूलाई स्वदेश फर्काउँदा बङ्गलादेशका साथै म्यान्मालाई पनि राम्रो हुने उनले उल्लेख गरिन् ।

रोहिङ्ग्याको उपस्थितिले बङ्गलादेशको सामाजिक संरचनामा समस्या उत्पन्न भएको, कोही लागूऔषध तस्करीमा लागेका, कोही हतियारसहित द्वन्द्व निम्त्याउनेतर्फ लागेका र कोही महिला बेचबिखनमा संलग्न भएका बताउँदै प्रधानमन्त्री हसिनाले उनीहरूको शीघ्र घर फिर्तीका लागि दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) तथा संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय समुदायसँग छलफलमा रहेको जानकारी दिइन् ।

आफ्नो देशले धेरै समस्याको सामना गरिरहेका बेला रोहिङ्ग्यालाई शरण दिएको बताउँदै उनले अब उनीहरू आफ्नो देश फर्कनुपर्नेमा जोड दिइन् ।

उक्त समस्या समाधानमा छिमेकी देशका नाताले भारतले ठूलो भूमिका निर्वाह गर्नसक्ने उनले बताइन् । भारतसँगका सम्बन्धका सबै विषयमा नयाँ दिल्लीमा छलफल हुने पनि उनले स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय