भदौ १३,
लगातारको वर्षापछि आएको बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । पाकिस्तानमा गत जुन यता आएको बाढीपहिरोका कारण १ हजार ३३ जनाको मृत्यु भइसकेको छ ।
तीमध्ये १ सय १९ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीले जनाएका छन। बाढीका कारण दसौं हजार विस्थापित भएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स लगायत देशहरूले पाकिस्तानका लागि सहयोग उपलब्ध गराएको बीबीसीले जनाएको छ । तर मन्त्रालयका अधिकारी दसौं हजार विस्थापित भएको सल्मान सुफीले अझ धेरै स्रोतको आवश्यकता रहेको बताएका छन ।
सरकारले सम्भव भएसम्म बाढी प्रभावितलाई सहयोग गरिरहेको उनको दाबी छ । ‘पाकिस्तानले पछिल्लो समय आर्थिक समस्याको सामना गरिरहेको छ । आर्थिक समस्या समाधान गर्ने प्रयास भइरहेका बेला बर्खायामको विपद्ले थप संकट थपिएको छ,’ उनले भने । देशको उत्तर–पश्चिम प्रान्त खैबर पख्तुन्ख्वामा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन । जसका कारण हजारौं मानिस घर छाडेर भाग्न बाध्य भएका छन ।



त्यसैगरी, दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौं मानिस विस्थापित भएको जनाइएको छ । अधिकारीहरूले अन्य विकास परियोजनाको बजेट रकमान्तर गरी बाढी प्रभावितलाई राहतको व्यवस्था गरिएको जनाएका छन। सिन्ध प्रान्तमा सबैजसो गाउँका स्थानीय बाढीका कारण विस्थापित भएका छन । बाढीका कारण भएको पूर्ण क्षतिबारे तथ्यांक संकलन भइरहेको जनाइएको छ । पाकिस्तानमा बाढी नौलो नभए पनि यसपटकको वर्षा र त्यसको असर फरक भएको बताइएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले देशको करिब १५ प्रतिशत (३ करोड ३० लाख) जनसंख्या बाढीबाट प्रभावित भएको जनाएका छन । यस वर्षको बाढी हालसम्मकै खराब भएको उनको भनाइ छ । पछिल्लो
समय देखिएको बाढीको क्षति अस्वाभाविक भएको र त्यसका लागि जलवायु परिवर्तन मुख्य कारक रहेको विज्ञहरू बताउँछन।
पाकिस्तानमा सन् २०१० को बाढीपहिरोका कारण २ हजार जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यतिबेला २० प्रतिशतभन्दा बढी पाकिस्तानी भूभाग जलमग्न भएको थियो ।



