जी–२० सम्मेलनमा चिन का चिनफिङ र रुसका पुटिन सहभागी हुने

२०७९ भाद्र ४, शनिबार
पढ्ने समय : 2 मिनेट

भदौ ४,
चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नवम्बर मा बालीमा हुने जी–२० सम्मेलनमा सहभागी हुने भएका छन् । सम्मेलनमा यी दुवै नेताको सहभागिताबारे शुक्रबार इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले पुष्टि गरेका हुन् ।

रुस–युक्रेन युद्ध र ताइवानलाई लिएर चर्किएको अमेरिका–चीनबीचको तनावबीच हुन लागेको यो प्रभावशाली विश्व सम्मेलन हो । सम्मेलनमा चिनफिङ र पुटिन सहभागी हुनेबारे पहिलो पटक आधिकारिक तहबाट जानकारी बाहिर आएको हो । ‘सी चिनफिङ आउनु हुनेछ, राष्ट्रपति पुटिनले समेत सम्मेलनमा सहभागी हुनेबारे मसँगको कुराकानीमा बताउनुभएको छ,’ राष्ट्रपति विडोडोले समाचार संस्था ब्लुमबर्गसँगको अन्तर्वार्तामा भनेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसमेत सहभागी हुने आकलन गरिएकाले यो सम्मेलनलाई चासोका रूपमा हेरिएको छ । त्यस क्रममा बाइडेन र पुटिनबीच भेटवार्ता हुनेमा भने अन्योल छ । तर, बाइडेन र चिनफिङबीच भने सम्मेलन सुरु हुनुअगावै वा साइडलाइन वार्ता हुन सक्ने रिपोर्टहरूमा जनाइएको बीबीसीले लेखेको छ ।

चीनले विगुर मुसलमान माथि दमन गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । यसबाहेक द्विदेशीय व्यापारलाई लिएरसमेत लामो समयदेखि दुवै मुलुकको सम्बन्ध चिसिएको छ । चीनले आफ्नो भूमि बताउँदै आएको ताइवानमा चिनियाँ चेतावनीका बाबजुद केही साताअघि मात्रै अमेरिकी सभामुख न्यान्सी पेलोसीले भ्रमण गरेपछि दुई मुलुकबीच तनाव उत्कर्षमा पुगेको छ । भ्रमणपछि चीनले पावेलमाथि प्रतिबन्ध लगाउँदै अमेरिकालाई आफ्नो सीमा ननाघ्न चेतावनी दिइसकेको छ । यद्यपि पछिल्लो एक साता यता ताइवानमा अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेको छ ।

अर्कोतर्फ युक्रेनमा सैन्य कारबाहीका बाबजुद चीन र रुसबीच सीमा रहित रणनीतिक साझेदारी गर्ने सहमति भइसकेको छ । रुसले युक्रेनमाथि युद्ध छेडेपछि उसको अमेरिकासहित पश्चिममा मुलुकसँगको सम्बन्ध बिग्रिएको छ । यस्तोमा विश्वका प्रमुख नेताहरू एकै स्थानमा भेट भए त्यसले कूटनीतिक रूपमा ठूलो अर्थ राख्ने कूटनीतिज्ञहरूले बताएका छन् ।
यसअघि युक्रेनमा आक्रमण थालेपछि अमेरिकाले रुसलाई जी–२० को सदस्यबाटै हटाउनुपर्ने बताएको थियो । सम्मेलनमा राष्ट्रपति पुटिनलाई निमन्त्रणा समेत दिन नहुनेमा उसको जोड थियो । अमेरिका र उसका पश्चिमी सहयोगी मुलुकका कतिपय नेताहरूले भने जी–२० सम्मेलनमा नगएर रुस र चीनलाई एकतर्फी आफ्ना कुरा राख्न दिन नहुने भन्दै सम्मेलनमा सहभागी हुनुपर्नेमा जोड दिँदै आएका छन् । यता, इन्डोनेसियाले तीनै शक्ति राष्ट्रहरूबीच चर्किएको तनाव मत्थर पार्न आफू मध्यस्थकर्ताको रूपमा उभिन खोजिरहेको बताएको छ ।

यसै साता मात्रै विडोडोले आफ्नो मुलुकलाई शान्ति स्थापनाका लागि सेतुको रूपमा प्रयोग गर्न रुस र युक्रेन दुवै राष्ट्र सहमत भएको बताएका थिए । उनले गत जुनमा किभ र मस्कोको भ्रमण गरेर दुवै मुलुकका समकक्षीसँग भेटसमेत गरेका थिए । रुस–युक्रेन युद्ध सुरु भएपछि किभ र मस्को पुग्ने विडोडो पहिलो एसियाली नेता हुन् । भ्रमणका क्रममा आफूले दुवै नेतासमक्ष युद्ध अन्त्य गर्न र विश्वव्यापी रूपमा देखिएको खाद्यान्न संकटको समाधान निकाल्न आग्रह गरेको विडोडोले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय