साउन २१
चीनले संयुक्तराज्य अमेरिकासँग जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागुऔषध विरोधी प्रयासका विभिन्न विषयसँग सम्बन्धित वार्तालाई तत्कालका लागि निलम्बन गरेको छ । अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई देखाउँदै चीनले शुक्रबार सो निर्णय गरेको हो । बेइजिङ र वासिङ्टन बीचको सम्बन्धमा तनाव आइरहेको समय चीनले उक्त घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्व दिएर ‘एक चीन नीतिविरुद्ध’ भ्रमण नगर्न दिएको सुझाबलाई उल्लङ्घन गरेमा यसको सशक्त प्रतिकार गर्ने बताउँदै आएको छ । चीनले ताइवानको तट नजिकैको ६ वटा क्षेत्रमा बिहीबार चेतावनी स्वरूप सैन्य अभ्यास सुरु गरेको छ, जुन आइतबारसम्म चल्नेछ ।
ताइवानी प्रतिरक्षा अधिकारीहरूले सञ्चारमाध्यमलाई बताएअनुसार ताइवानमाथि पनि चिनियाँ क्षेप्यास्त्र प्रहार गरिएको उल्लेख छ । चीनले विदेशी सरकारहरूलाई चीनको अनुमतिबिना स्वतन्त्ररुपमा ताइवानसँग सम्बन्ध अघि नबढाउन आग्रह गर्दै आएको छ । पेलोसीको भ्रमणप्रति चीनको प्रतिक्रिया असामान्य देखिएको छ ।



चिनियाँ परराष्ट्र मन्त्रालयले अमेरिका र चिनियाँ क्षेत्रीय कमाण्डर तथा रक्षा विभाग प्रमुख बीचको वार्ता रद्द गरिने बताएको छ । अवैध आप्रवासीलाई फिर्ता गर्ने, आपराधिक अनुसन्धान, परराष्ट्रिय अपराध, अवैध लागुऔषध र जलवायु परिवर्तनका सम्बन्धमा सहकार्य गर्ने सहमति निलम्बन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।
पेलोसीले ‘चीनको बलियो विरोध र गम्भीर प्रतिनिधित्वको उपेक्षामा’ ताइवान भ्रमण गरेकोले यो कार्य गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । चीनले आफ्नो सार्वभौमिकतामाथि आक्रमण गरेको आरोप बाइडेन प्रशासनलाई लगाएको छ । यद्यपि, पेलोसी अमेरिकी सरकारको सभामुख भएकोले उनको भ्रमण रोक्ने कुनै अधिकार चीनलाई थिएन ।



