साउन २०,
चीनले दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले समकक्षी विदेशमन्त्रीहरुसँग बिहीबार भएको भेटमा दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो देशको प्रयासबारे बताएका हुन्।
अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का उच्च कूटनीतिज्ञहरूसँग भएको छलफलमा विदेशमन्त्री वाङले सो कुरा बताएका हुन्। बेइजिङले पेलोसीसहितको प्रतिनिधिमण्डलको ताइवान भ्रमणप्रति असन्तुष्ट रहेको छ।



यसअघि, आसियान समूहले बिहीबार जारी गरेको एक विज्ञप्तिमा अमेरिका र चीन दुवैलाई भ्रमणपछि ‘अधिकतम संयम’ देखाउन र ‘उत्तेजक कार्यबाट अलग रहन’ आग्रह गरेको थियो।
चीनले ताइवानलाई आफ्नो इलाकाको रूपमा दाबी गर्छ र ताइवानका अधिकारीहरूले विदेशी सरकारहरूसँग गरेको कुनै पनि सहभागिताको विरोध गर्छ। आफ्नो उद्घाटन सम्बोधनमा वाङले यस परिस्थितिबारे उल्लेख नगरिकन चीन र आसियान मुलुकहरूले हालैका वर्षहरूमा कसरी सहयोगलाई सुदृढ बनाएका छन् भन्ने कुराप्रति जोड दिएका थिए।
उनले भने, ’अन्तर्राष्ट्रिय सुरक्षा स्थितिमा देखिएकोे वर्तमान् अशान्तिको सामना गर्दै हामीले शान्तिको आशालाई सुरक्षित राखेका छौं।’ आसियान समूहमा बु्रनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम रहेका छन्।
चीन एशिया, अफ्रिका र मध्यपूर्वभरि युरोपसम्म बन्दरगाह, रेलमार्ग र अन्य आधारभूत संरचना निर्माण गरेर व्यापार विस्तार गर्न आफ्नो बेल्ट एण्ड रोड कार्यक्रम मार्फत विकासोन्मुख देशहरूको लागि सबैभन्दा ठूलो ऋणदातामध्ये एक भएको छ।यसले गर्दा बेइजिङले राजनैतिक लाभ उठाउन ऋण प्रयोग गरिरहेको आरोप लगाइने गरेको छ । तर चिनियाँ अधिकारीहरूले आरोपलाई इन्कार गर्नेगरेका छन्।
चीनले ’उच्च गुणस्तरीय विकासलाई बढावा दिन, नयाँ विकास पद्धति निर्माण गर्न, क्षेत्रीय र विश्व आर्थिक पुनः स्थापना र विकासका लागि अधिक गति प्रदान गर्न र आसियान देशहरूका लागि बढी विकास अवसर प्रदान गर्न प्रयास गरिरहने’ नोमपेन बैठकमा वाङले प्रतिबद्धता व्यक्त गरेका हुन्। यस समूहमा रहेको चीनसँग बढी निकट मानिने र आसियान नेताहरूको भेलाको आयोजक कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग पनि वाङले बुधबार लामो वार्ता गरेका थिए।
वाङसँगको आफ्नो बैठकमा हुन सेनले ’फलामले भरिएको’ मित्रता विकास भएको कुरा बताए जुन ’बेल्ट एण्ड रोडको संयुक्त निर्माणबाट फलदायी परिणामहरूको आनन्द उठाइरहेको थियो, जसले उनीहरूका जनतालाई ठूलो लाभ ल्याएको छ,’ शिन्हुआले रिपोर्ट गरे।
अमेरिकाले पनि एसिया–प्यासिफिक क्षेत्रमा आफ्नो उपस्थिति र सहभागिता बढाउन पनि जोडदार दबाब दिँदै आएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आसियानका मन्त्रीसँगको भेटअगाडि वासिङ्टनले उक्त क्षेत्रभरि समूहसँग सहकार्य बढाउने विश्वास दिलाएका थिए। ब्लिन्केनले भने, ’हामी इन्डो–प्रशान्तमा खुलापन, विशिष्टता, कानुनको शासनप्रतिको प्रतिबद्धता, सुशासनप्रतिको आसियान दृष्टिकोणलाई दृढतापूर्वक समर्थन गर्छौं र हामी यस दृष्टिकोणमा आधारित मूल्यहरूलाई हार्दिक समर्थन गर्छौं।’
दक्षिण कोरियाका विदेशमन्त्री पार्क जिन र जापानी विदेशमन्त्री ह्याशी योशिमासा आसियान राष्ट्रका मन्त्रीसँगको छलफलमा योशिमासाले युक्रेनमाथि रुसी आक्रमणले युरोपभन्दा बाहिर दूरगामी प्रभाव पारेको भन्दै यूक्रेनमा रूसको आक्रमणको विरोध गरेका थिए। उनले कोरोनाभाइरस महामारीबाट प्रभावित अर्थतन्त्रलाई युद्धका कारण पुनः उठ्न झनै कठिन बनाएको बताए।
यसअघि आसियान अर्को एक छुट्टै बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै रूसी विदेश मन्त्री सर्गेई लाभरोभले यूक्रेन आक्रमण र यसका कारण विश्वमा परेको खाद्यान्न अभाव, मूल्यवृद्धि लगायतका आर्थिक मुद्दाबारे कुनै कुरा नराखेको बताइएको छ।
तथापि, युरोपेली संघको विदेश नीति प्रमुख जोसेप बोरेलसँगको प्रत्यक्ष भेटवार्तामा कम्बोडियाका हुन सेनले रूस विरुद्ध गरिएका प्रतिबन्धहरूलाई पुनर्विचार गर्न आग्रह गरेका थिए। उनले रूस र यूक्रेनका कारण विश्वका अन्य राष्ट्रहरूमा गम्भीर आर्थिक प्रभाव पारिरहेका बताए।
हुन सेनले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको एक सन्देशमा यूक्रेन युद्धका कारण परेको खाद्यान्न अभाव र आर्थिक भारजस्ता बिषयमाथि गम्भीर बन्दै रूसविरूद्धको प्रतिबन्धलाई पुनर्विचार गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केनलाई आग्रह गरेका छन्।



