चीनमा मुद्दा जिते हिमालयन र बैंक अफ काठमाण्डूले, फिर्ता पाउँदै डेढ अर्ब

२०७९ श्रावण १८, बुधबार
पढ्ने समय : < 1 मिनेट

साउन १८

– मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी बापतको रकम भुक्तानी गर्न चिनियाँ अदालतले आदेश दिएको छ। बैंक अफ काठमाण्डू (बिओके) र हिमालयन बैंकलाई उक्त रकम फिर्ता गर्न चीनियाँ उच्च अदालतले आदेश जारी गरेको हो।

अदालतको उक्त आदेशसँगै दुई बैंकको गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता हुने भएको छ। बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले चिनियाँ अदालतबाट आफ्नो पक्षमा फैसला आएको जानकारी प्राप्त भएको बताए। ‘चीनको उच्च अदालतबाट हामीले मुद्दा जितेको जानकारी आएको छ,’ उनले भने, ‘अब रकम दाबी प्रक्रिया अघि बढाउछौं।’

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेलाई चाइना कन्स्ट्रक्सन बैंकले दिएको बैंक ग्यारेन्टीमा नेपाली बैंकको तर्फबाट बिओकेले ६६ लाख २५ हजार १० डलर र १४ लाख ११ हजार ४५३ युरो तथा हिमालयलनले ६६ लाख डलर बराबरको काउन्टर ग्यारेन्टी दिएका थिए।

चाइना रेल्वे कम्पनीले सम्झौता अनुसार आयोजनाको काम गर्न नसकेपछि ठेक्का रद्द गर्दै आयोजनाले ग्यारेन्टी वापतको रकम दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। अदालतको आदेशअनुसार नेपाली बैंकहरुले आयोजनालाई ग्यारेन्टी रकम भुक्तानी गरेपनि चिनीयाँ बैंकबाट भने रकम पाएका थिएनन्।

ठेकेदार कम्पनी चाइना रेल्वेले चीनको अदालतमा हालेको मुद्दामा नेपाली बैंकलाई चाइना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टीको भुक्तानी दिन नपर्ने आदेश जारी गरेको थियो। त्यसपछि नेपाली बैंकहरुले चीनमा कानुनी परामर्शदाता नै पठाएर उच्च अदालतसम्म मुद्दा लडेका हुन्। उच्च अदालतले नै भुक्तानी दिन आदेश दिएपछि अब ग्यारेन्टी वापतको रकम फिर्ता हुने सिइओ मास्केले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय