अमेरिकालाई चीनको चेतावनी– ’आगोसँग नखेल्नू’

२०७९ श्रावण १४, शनिबार
पढ्ने समय : < 1 मिनेट

साउन १४
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ताइवान र दक्षिण चीन सागर लगायत विषयबारे वार्ता भएको छ । यस क्रममा दुवै देशका राष्ट्रपतिहरू प्रत्यक्षरुपमा भेटवार्ता गर्न सहमत भएका छन।् । वार्ताको क्रममा ताइवान विवादबारे पनि दुई नेताबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यस क्रममा ताइवानमा गतिविधि नबढाउन भन्दै सी ले बाइडेन लाई चेतावनी दिएको पनि अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । रोयटर्सका अनुसार सी ले बाइडेन लाई ताइवानको विषयमा ’आगोसँग नखेल्न’ चेतावनी दिएका थिए ।
अमेरिकी सभामुख न्यान्सी पेलोसी ले ताइवान भ्रमण गर्ने तयारी भइरहेको समाचार आइरहँदा दुई देशका राष्ट्रपतिबीच वार्ता भएको हो । सी ले पेलोसीको सम्भावित भ्रमणलाई लिएर आपत्ति जनाएका थिए । यदि पेलोसीले ताइवान भ्रमण गरेमा २५ वर्षपछि अमेरिकी उच्च अधिकारीको सबैभन्दा महत्त्वपूर्ण भ्रमण हुनेछ । यद्यपि पेलोसीको भ्रमण कहिले हुने वा नहुने भन्नेबारे बाइडेन प्रशासनबाट आधिकारिक रुपमा घोषणा भएको छैन ।
बिहीबार साँझ अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ नेता सीलाई भिडियो कल गरेका हुन् । बाइडेन राष्ट्रपति बनेपछि चिनियाँ राष्ट्रपति सीसँगको यो उनको पहिलो वार्ता पनि हो । उनीहरूबीच दुई घण्टा लामो फोनवार्ता भएको थियो ।

वार्ताको क्रममा सीले बाइडेन समक्ष अमेरिकाले ’एक चीन नीति’ पालना गर्नुपर्ने भन्दै आग्रहसमेत गरेका थिए । साथै ताइवानको विषयमा उनले कडारुपमा चिनियाँ धारणा राखेको चिनियाँ सरकारी समाचार माध्यमले जनाएका छन् ।
ताइवानलाई लिएर चीन र अमेरिका बीच लामो समयदेखि विवाद छ । ताइवानमा अमेरिकी गतिविधिलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ । चीनले ताइवानलाई आफ्नो सुरक्षा क्षेत्रको रुपमा चिनाइरहँदा ताइवानले भने आफूलाई स्वतन्त्र देशको रुपमा चिनाउँदै आएको छ ।यसबीचमा चीनले पटक–पटक ताइवानको आकाशमा लडाकु विमान उडाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय