श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेविरुद्ध सिंगापुरमा मुद्दा

२०७९ श्रावण ९, सोमबार
पढ्ने समय : < 1 मिनेट

साउन ९
श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध अधिकारकर्मीहरूको एक अन्तर्राष्ट्रिय संस्थाले पक्राउको माग गर्दै मुद्दा दायर गरेको छ । श्रीलंकामा आन्दोलन चर्किएपछि भागेर सिंगापुर पुगेका राजापाक्षे विरुद्ध सिंगापुरमा उजुरी दिइएको हो ।
सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा शनिबार दर्ता गरिएको ६३ पृष्ठ लामो उजुरीमा श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेले श्रीलंकामा चलेको २५ वर्ष लामो गृहयुद्धमा जेनेभा महासन्धिको उल्लंघन गर्नुका साथै मानवअधिकार हनन् गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्टरनेसनल ट्रुथ एन्ड जस्टिस प्रोजेक्ट (आईटीजेपी)का तर्फबाट राजापाक्षेविरुद्ध शनिबार मुद्दा दायर गरिएको उक्त संस्थाकी कार्यकारी निर्देशक यस्मिन सुकाले पुष्टि गरेकी हुन् ।

श्रीलंकामा २००९ मा अन्त्य भएको गृहयुद्धको क्रममा तत्कालीन पृथकतावादी विद्रोही लिट्टे र सरकारका तर्फबाट मानवअधिकार उल्लंघनका साथै दुर्व्यवहारका घटना भएको बताइन्छ ।

श्रीलंकामा राजापाक्षेविरुद्ध देशव्यापी प्रदर्शन चर्किएपछि जुलाइ १३ मा उनी भागेर सिंगापुर पुगेका थिए । साथै उनले सिंगापुरबाटै राजीनामा पठाएका थिए।

गोटाबायाले २००८ मा युद्ध क्षेत्रबाट संयुक्त राष्ट्र संघ र दातृ निकायहरूलाई फिर्ता जान आदेश दिँदै नागरिकहरूमाथि सेनाले गरेको नरसंहारमा उनको संलग्नता रहेको भन्दै उनी आलोचित बन्ने गरेका छन् । सिंगापुरमा उनीमाथि दायर गरिएको मुद्दामा उनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको छ।

राजापाक्षेले भने आफूमाथि लाग्ने गरेका आरोप अस्वीकार गर्दै आएका छन् । उनीमाथिको मुद्दाबारे सिंगापुरका महान्यायाधिवक्ताले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय