चार महिनामै नेपाल मा दोस्रो उच्च चिनियाँ भ्रमण

२०७९ असार २६, आईतवार
पढ्ने समय : 3 मिनेट

असार २६
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार काठमाडौं आइपुग्दैछन्। चार दिने नेपाल भ्रमणका लागि उनको नेतृत्वमा आठ सदस्यीय चिनियाँ टोली आउन लागेको हो।

नेपालले एमसीसीसँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो। यसअघि गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए। नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेपछिको भने यो पहिलो चिनियाँ भ्रमण हो।

चिनियाँ विदेश विभाग प्रमुख लिउले आसन्न नेपाल भ्रमणका दौरानमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र नेकपा एसका नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ। नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको विश्लेषण गरिएको छ। टोलीले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेट्नेछ।

आज नेपाल आउन लागेका लिउ र उनले नेतृत्व गरेको विभागका उपप्रमुख चेन झोउले केही दिनअघि एमाले, माओवादी र कांग्रेसका नेताहरूसँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए। असार ९ मा माओवादी अध्यक्ष प्रचण्ड, असार १० मा एमाले अध्यक्ष केपी ओली र असार १६ मा कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग संवाद भएको थियो।

संघीय र प्रदेश संसद्का लागि चुनाव घोषणा हुन लागेका बेला हुन लागेको चिनियाँ उच्च अधिकारीहरुको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। स्मरण रहोस २०७४ सालमा निर्वाचन हुनुअघि एमाले र माओवादीलाई मिलाएर निर्वाचनमा सँगै लान र त्यसपछि एकीकरण गर्नका लागि चिनियाँ पक्षले महत्वपूर्ण भूमिका खेलेको थियो। चीनले नेपालमा कम्युनिस्टहरू मिल्नुपर्नेमा जोड दिँदै आइरहेको छ।

पछिल्लो केही समय नेपालमा अमेरिकी प्रभाव बढेको र आफ्नो कम भएको निष्कर्ष चीनले निकालेको छ। आफ्नो भूराजनीतिक शक्ति सन्तुलन कायम गर्न र आगामी निर्वाचनमा बाम सहकार्यको अवस्था बुझ्न सीपीसीका वरिष्ठ अधिकारी नेपाल आउन लागेका हुन्। सम्भव भए पार्टी एकता नभए चुनावी मोर्चा भए पनि बनाउनेबारे चिनियाँ पक्षले कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल गरिरहेको बताइएको छ।
र्
यता, एमाले र माओवादीका दोस्रो तहका नेताहरुबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोर्चा बनाउनेबारे छलफल चलिरहेको छ। त्यसैगरी नेता वामदेव गौतमले राष्ट्रिय एकता अभियान नामक पार्टी खोलेर बाम शक्तिहरुको एकताका लागि पहल गरिरहेका छन्।

कम्युनिष्ट सहकार्यका लागि हालको सत्ता गठबन्धन (कांग्रेस–माओवादी–नेकपा एस) ढाल्न चिनियाँ पक्षले कसरत गरिरहेको बताइन्छ। संसदमा कम्युनिष्ट बलियो भएर नेपालमा अमेरिकी प्रभाव कमजोर हुने चिनियाँ बुझाइ छ। त्यसकारण बाम एकता र सहकार्यको अवस्था बुझ्न र त्यहीअनुसार रणनीति बनाउन सीपीसीका विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोली काठमाडौं ओर्लिन लागेको हो।

एक चीन नीति नेपालले अख्तियार गर्दै आएको छ। यसअनुसार नेपालबाट चीन विरोधी गतिविधि नहोस् भन्ने चीन चाहन्छ। तर गठबन्धन सरकारले गरेका पछिल्ला केही क्रियाकलापले नेपालको एक चीन नीतिप्रति बेइजिङको विश्वास घट्दै गएको विश्लेषण गरिएको छ।

एमसीसी पारित भएपछि नेपालमा अमेरिकी प्रभाव बढेको र गठबन्धन सरकार महत्वाकांक्षी चिनियाँ परियोजना बीआरआई कार्यान्वयनमा उदासिन देखिएको ठहर चिनियाँ पक्षको छ। एमसीसी अघि बढ्नु भनेको बीआरआई ओझेलमा पर्नु हो भन्ने चीनको चिन्ता छ। नेपालमा कम्युनिष्ट सरकार आए बीआरआई अघि बढ्ने विश्वासका साथ चीन यहाँका कम्युनिष्टहरुलाई मिलाउन लागिपरेको जानकारहरु बताउँछन्।

अर्को अमेरिकी कार्यक्रम एसपीपी अस्वीकार गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन हुनेमा पनि चीनको आशंका छ। मन्त्रिपरिषद्ले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको भए पनि यससम्बन्धी पत्र अहिलेसम्म अमेरिकालाई पठाइएको छैन।

गठबन्धन सरकारले चीनविरोधी गतिविधिलाई प्रश्रय दिएको पनि चिनियाँ बुझाइ छ। त्यसको पछिल्लो उदाहरण हो– अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले नेपाल भ्रमणका क्रममा गत महिना तिब्बती स्कुल र तिब्बती शरणार्थी शिविरको भ्रमण गर्नु। गत जेठ ७ गते जियाले स्वयम्भूस्थित तिब्बती स्कुल र जावलाखेलस्थित शरणार्थी शिविरको भ्रमण गरेकी थिइन्।

यही असार २२ गते तिब्बती शरणार्थीहरुले नेपालस्थित विभिन्न मुलुकका कूटनीतिज्ञहरुको साथमा तिब्बती धार्मिक नेता दलाई लामाको जन्मदिन मनाएको खबरले पनि चीन चिन्तित भएको बताइएको छ। उक्त कार्यक्रममा नेपाल प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय