अमेरिकी एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयमा चीनको स्वागत

२०७९ असार १०, शुक्रबार
पढ्ने समय : 2 मिनेट

असार १०

उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंसा गरेको छ।

चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा प्रवक्ता वाङ वेनबिनले नेपालको निर्णयको स्वागत गरेका छन्।

नेपाललाई लिएर दुई शक्ति राष्ट्रबीच वाक युद्ध चलिरहेका बेला अमेरिकी सैन्य रणनीतिअन्तर्गतको एसपीपी अस्वीकार गरेकोमा चीनले स्वागत गरेको हो।

प्रवक्ता वाङ् वेनबिनले पत्रकारको प्रश्नमा भनेका छन्, ‘नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार चीन नेपाल सरकारको उक्त निर्णयको प्रशंसा गर्छ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाद्वारा अघि बढाइएको एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय लिएको थियो।

‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई कायम राख्न, स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिवद्धतालाई चीनले समर्थन गरिरहनेछ। क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्न चीन तयार छ,’ प्रवक्ता वेनबिनले अगाडि भनेका छन्।

उनले हालै नेपालमा एसपीपीमा बृहत् विवाद भएकोबारे चीन जानकार रहेको पनि बताएका छन्।

‘नेपालका राजनीतिक दल र समूह, सरकार, सेना तथा नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग नजिकसँग जोडिएको सैन्य सुरक्षा अवधारणा भनेका छन’, प्रवक्ता वेनबिनले भनेका छन्, ’उनीहरू यसलाई राष्ट्रिय हित र लामो समयदेखि अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिविपरीत रहेको मान्छन्।’

यसैबीच चीनले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि जबरजस्तीपूर्ण कूटनीति लादिरहेको आरोप फेरि दोहो¥याएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले गत महिना सार्वजनिक गरेको ‘अमेरिकाको चीन नीति’ को कडा प्रतिवाद गर्दै चिनियाँ विदेश मन्त्रालयले त्यस्तो अडान दोहो¥याएको हो।

ब्लिङ्कनले अमेरिकी थिंकट्यांक एसिया सोसाइटीमा गत मे २६ मा मन्तव्य दिँदै चीनको समकालीन विश्व दृष्टिकोण र परराष्ट्र नीतिको चर्को आलोचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय