जेठ १३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको तिब्बती शरणार्थी शिविर अवलोकनमा आपत्ति जनाएका छन्।
संसद भवनमा बुधबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेपालको परराष्ट्र नीतिको स्थापित मान्यताविपरीत राज्यकै समन्वयमा अमेरिकी उपमन्त्री शरणार्थी शिविर गएको भन्दै आपत्ति जनाएका हुन्।



‘एउटा कुनै देशको भूभागको मामिला हेर्ने मन्त्रीलाई जावलाखेल, महाबौद्ध गुम्बामा प्रहरीको स्कर्टिङमा घुमाउने कुरा अत्यन्त आपत्तिजनक कुरा हो,’ ओलीको भनाइ उद्धृत गर्दै सांसद भीम रावलले भने।
अमेरिकी उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमणमा नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने प्रकारको व्यवहार भएको भन्दै ओलीले विरोध जनाएका थिए।
अध्यक्ष ओलीले नेपालले राष्ट्रिय हित, हस्तक्षेप र असंलग्न नीतिलाई अंगाल्दै आएको अवस्थामा तिब्बती शरणार्थीको क्याम्पमा पुगेर उक्साउने काम भएको आरोप लगाएका थिए। नेपाली भूमिलाई प्रयोग गर्ने त्यो कदम बेठीक रहेको ओलीको भनाइ थियो।
बैठकमा सांसद रावलले अमेरिकी उपमन्त्रीको शरणार्थी भेट्ने कार्यविरुद्ध विरोध प्रस्ताव नै पारित गर्न माग गरेका थिए।
‘नेपालको संविधानले सुनिश्चित गरेको संयुक्त राष्ट्रसंघको वडापत्र, पन्चशीलको सिद्धान्त र असंलग्नतामा आधारित स्वतन्त्र परराष्ट्र नीतिविपरीत एउटा देशको तिब्बत मामिला हेर्ने मन्त्री बोलाउने, प्रहरी स्कर्टिङमा तिब्बती शरणार्थी शिविरमा भ्रमण गराउने, प्रधानमन्त्री शेर बहादुर देउवा र पत्नी आरजु देउवा सँगसमेत वार्ता गराउने कार्यले नेपालजस्तो संवेदनशील भुराजनीतिक अवस्था भएको देशको सुरक्षालाई खतरामा पार्छ। शक्ति राष्ट्रको खेलमा नेपाललाई हाल्ने कुरा देशदोह्री र राष्ट्रविरुद्धको अपराध हुन्छ। यस्तो कुराको विरुद्धमा प्रस्ताव पारित गर्न कुरा उठाएको थिए,’ रावलले भने।
सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धारणा बनाउन संसद भवनमा एमाले संसदीय दलको बैठक बसेको थियो। बैठकमा नेपाली भूमिमा अमेरिकी मन्त्री तिब्बत क्याम्पमा प्रवेश गरेको विषय उठेपछि ओली बोलेका थिए।
परराष्ट्र मामिला जानकारसमेत रहेका एमाले सांसद दीपकप्रकाश भट्टले सरकारले असन्तुलित परराष्ट्र नीति अंगालेर अमेरिकी मन्त्रीलाई स्कर्टिङमै शरणार्थी शिविर पु¥याएको भन्दै अध्यक्ष ओलीले विरोध जनाएको बताए।



