लुम्बिनीमा भारतीय पर्यटकको संख्या बढ्दै

२०८१ श्रावण २, बुधबार
पढ्ने समय : 2 मिनेट

भैरहवा साउन २
बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भारतीय पर्यटकको संख्या बढ्दै गएको छ । भारतीय पर्यटक आगमनले यहाँ रेकर्ड कायम गर्दै गएको देखिन्छ ।पछिल्लो ६ महिनाको अवधिमा २ लाख भन्दा बढी बाह्य पर्यटक लुम्बिनी आएका छन् । सन २०२४ यता जुन महिनासम्म आन्तरिकबाहेक भारतीय र तेस्रो मुलुकका गरी २ लाख ४ हजार ६ सय ९४ जना लुम्बिनी आएको लुम्बिनी विकास कोषले जनाएको छ ।
सबैभन्दा बढी भारतबाट १ लाख ५२ हजार ५ सय २० जना लुम्बिनी घुम्न आएका छन् । सन २०२३ को यही अवधिसम्म यहाँ १ लाख ३३ हजार १ सय ७९ भारतीय आएका थिए । जुनसम्मको तथ्यांकलाई आधार मान्दा कोभिड अघि भन्दा अहिले भारतीय पर्यटक ५० प्रतिशतले बढेका छन् ।
२०१९ को जुनसम्म १ लाख २ हजार ४ सय ५२ भारतीय लुम्बिनी आएको कोषको तथ्यांकमा उल्लेख छ । त्यस्तै २०२४ को ६ महिनामा भारतबाहेक अन्य तेस्रो मुलुकहरूबाट कुल ५२ हजार १ सय ७४ पर्यटक लुम्बिनी आएका छन् । अघिल्लो वर्ष सोही अवधिको तुलनामा यो वर्ष १२ हजार भन्दा बढी विदेशी पर्यटक आएका हुन् ।

सन् २०२३ को जुन महिनासम्म लुम्बिनीमा ३३ हजार ६ सय ५ राहदानीबाहक विदेशी पर्यटक लुम्बिनी आएका थिए । कोभिड अघि सन् २०१९ को जुनसम्म ८३ हजार १ सय ५५ विदेशी पर्यटक यहाँ आएका थिए । ५ वर्ष अघिको तुलनामा अहिले झण्डै ३१ हजार कम विदेशी पर्यटक लुम्बिनी आएका हुन् ।
पछिल्लो ६ महिनामा लुम्बिनी आएका तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी थाइल्याण्डबाट १२ हजार २ सय ४४ जना रहेका छन् ।
श्रीलंकाबाट ९ हजार २ सय ६५, म्यानमारबाट ७ हजार २ सय ९५ र चीनबाट ६ हजार ७ सय ३४ पर्यटक आएका छन् । भियतनामबाट ३ हजार ८ सय ११, दक्षिण कोरियाबाट २ हजार ७ सय २२ र जर्मनीबाट १ हजार १ सय १९ पर्यटक ६ महिनायता यहाँ आएका छन् । अन्य मुलुकको आगमन दर भने हजार भन्दा कम छ ।
लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन कोभिड अघि भन्दा निकै कम देखिएको छ । सन् २०१९ को जुनसम्म ७ लाख ३३ हजार जना नेपाल भित्रबाटै यहाँ घुम्न आएका थिए ।

यो वर्षको ६ महिनामा जम्मा ३ लाख ४४ हजार ५ सय २९ आन्तरिक पर्यटक आएका छन् । जुन अघिल्लो वर्षको यही अवधि भन्दा अहिले ११ हजारले कम हो । सन् २०२३ को जुनसम्म ३ लाख ५५ हजार ८ सय ५० नेपालभित्रबाटै लुम्बिनी घुम्न आएका थिए ।
पछिल्लो समय भारतीय पर्यटक अधिक मात्रामा लुम्बिनी आएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, लुम्बिनीमा राम कथा वाचन लगायतले पनि भारतका पर्यटकको लुम्बिनीप्रति मोह बढेको उनको भनाइ छ ।
त्यस्तै लुम्बिनी विकास कोषका सूचना प्रमुख डाक्टर हरिध्वज राईले लुम्बिनीमा भारतीयसँगै तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या पनि बढेको जानकारी दिए ।

लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले लुम्बिनीमा आन्तरिक पर्यटक घट्नुको मुख्य कारण सडक पूर्वाधार भएको बताए । उनले भने, ‘बुटवल–नारायणगढ सडकखण्डसहित विभिन्न सडकहरु निर्माणसम्पन्न नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको संख्या घट्नुको मुख्य कारण पनि यही हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय