भारतीय पर्यटक भित्र्याउनका लागि सडक मार्गलाई राम्रो बनाउनु पर्छ’

२०८१ जेष्ठ २७, आईतवार
पढ्ने समय : < 1 मिनेट

जेठ २७
पर्साको ठोरी नाकाबाट पर्यटक भित्र्याउनका लागि सडक सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। ठोरीदेखि माडी पुग्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको १८ किलोमिटरको सडकको दूरावस्थाले सास्ती भइरहेकाले सुधार गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्।
भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाले ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रियामा सहभागी भएकाहरूले सडक मार्ग सुधार, नाकामा हुने अनावश्यक चेकजाँच घटाउनुपर्ने, पर्यटक बोकेका सवारी साधन प्रवेशमा सहज बनाउनुपर्ने बताए।

भारत बिहारका आसिन हुसेनले ठोरी नाकामा भारतीय पर्यटकका सवारीको नेपाल प्रवेशलाई अझ सहज बनाउनुपर्ने बताए। उनले भने, ‘जसरी भारतको ताजमहल विश्वको सातौ अजुबा हो। त्यस्तै भारतका लागि नेपाल सातौ अजुबा देश हो । भारतीयहरू नेपाल घुम्न लालायित हुन्छन्। तर नाकामा भारतीय सवारीको प्रवेशलाई अझ सहज बनाउनु पर्छ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले नेपाल घुम्न आउने भारतीय पर्यटकलाई प्रहरी प्रशासनले सहज बनाइ दिनुपर्ने बताए। नेपालमा भारतीय पर्यटकको संख्या बढाउनका लागि भारतीय पर्यटकका सवारी प्रवेशको भन्सार शुल्क बनाउनुपर्ने उनको सुझाव थियो। वीरगन्जका राधेश्याम पटेलले नाकामा मुद्रा सटही केन्द्र स्थापना गर्नुपर्ने बताए।

भरतपुर महाानगरपालिकाकी मेयर रेणु दाहालले पर्साको ठोरी नाका त्रिदेशीय नाकाका रुपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताइन्। ठोरी नाकामा भारतीय पर्यटकसँग नेपाली सुरक्षाकर्मीबाट भइरहेका असहज व्यवहारलाई कम गर्न आवश्यक रहेको भन्दै उनले सहज बनिदिन कार्यक्रममा सहभागी पर्साका सुरक्षा प्रमुखहरुलाई आग्रह गरिन्। मेयर दाहालले निकुञ्जभित्रको सडकको स्तरोन्नति तत्कालै आवश्यक रहेको बताउँदै यसका लागि संघ र प्रदेश सरकारलाई आग्रह गर्ने बताइन्।

कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना,वाणिज्यदूत सतिष कुमार, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, माडी नगरपालिकाका उपमेयर खेमराज महत्तो, ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, नेपाल होटल व्यवसायी महासंघ चितवनका अध्यक्ष दिनेश कुमार चुके लगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय