भारत र चीनबाट पर्यटक भित्र्याउन पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

२०८१ फाल्गुन १२, सोमबार
पढ्ने समय : 2 मिनेट

फागुन १२
पर्यटकीय राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तरराष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता छ ।
प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाहरुको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको जनाएको छ ।
प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरुबीच व्यावसायिक अनुभवको साथै सञ्जाल विस्तार र व्यापार अवसरहरू सृजना गराउने विश्वास लिइएको छ ।
‘नाइस फर माइस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना भएको प्रदर्शनीले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रका रूपमा मात्र नभइ माइस पर्यटन (अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी) का लागि आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने पाटा नेपालले जनाएको छ ।
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले दुई ठूला अर्थतन्त्र तथा पर्यटन स्रोत बजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए ।

प्रदर्शनीको दोस्रो दिन फागुन १३ गते द नलेज फोरमले ‘भिसा डेस्टिनेसन इनसाइट्सः सपोर्टिङ द टुरिजम इकोसिस्टम टु सस्टेनेबल हस्पिटालिटी फ्रम कन्स्ट्रक्सन टु अपरेसन’लगायतका विषयमा पर्यटन विशेषज्ञहरुले ज्ञान आदनप्रदान गर्नेछन् । साथै प्रदर्शनीमा बिटुबी प्रदर्शनी, व्यावसायिक बैठक तथा सञ्जाल विस्तारका सत्रहरु पनि आयोजना हुनेछन् ।

प्रदर्शनीले भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै पर्यटन सम्भावना र एकीकृत व्यापार प्रवद्र्धनका लागि पनि प्रदर्शनी सहयोगी बन्ने विश्वास गरिएको छ । कार्यक्रमले तीन देशबीच विशेष गरी पर्यटन, आतिथ्य र सम्बन्धित उद्योगका क्षेत्रमा व्यापारिक सञ्जाल र सहकार्य अभिवृद्धि गरी व्यापार सम्बन्धलाई थप सुदृढ गर्न मद्दत गर्नेछ ।

पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पहिलोपटक करिब २० करोड पर्यटकको यात्रा व्यवस्थापन गर्ने नेपाल, भारत र चीनका विश्वप्रसिद्ध ट्राभल कम्पनीहरू, टुर अपरेटरहरू, पर्यटनविद्हरू, तथा आयोजक संस्थाका अन्तरराष्ट्रिय प्रतिनिधिहरू पोखरामा भेला हुन महत्त्वपूर्ण र ऐतिहासिक क्षण भएको पोखरा महानरपालिका प्रमुख धनराज आचार्यले बताए।
अन्तरराष्ट्रिय प्रदर्शनीले भविष्यमा अपेक्षित पर्यटकलाई आमन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । नेपाल, भारत र चीनबीचको पर्यटन, व्यापार, र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको भनाइ छ ।पोखराको पर्यटन प्रवद्र्धनमा प्रदर्शनी विशेष महत्वको हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।

‘एक्स्पोले पोखराको पर्यटकीय सभ्भावनालाई पनि थप उजागर गर्नेछ’, उनले भने, ‘पोखरासहित समग्र देशको पर्यटन प्रवद्र्धनसँगै त्रिदेशीय पर्यटकीय साझेदारीका लागि पनि यो महत्वपूर्ण उपलब्धि हुनेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय