माघ २० ,
गौतमबुद्धको सन्देशसहित लुम्बिनीदेखि कुशीनगरसम्मको साइकल यात्रा सुरु भएको छ। बौद्ध परिपथ साइकल यात्रा संयोजन समितिको आयोजनामा शुक्रबार तीनदिने साइकल यात्रा सुरु भएको हो।
बौद्ध परिपथ साइकल यात्राको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले शुभारम्भ गरे।



कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीदेखि कुशीनगरसम्म बुुद्धको सन्देश बोकेर साइकल यात्रा गरिनुु निकै सकरात्मक रहेको बताए। उनले भगवान् बुुद्धले आफ्नो जीवनकालमा लामो यात्रा गरेको प्रसंग उल्लेख गर्दै बुद्धस्थल हुँदै गरिने साइकल यात्राले बुद्ध सन्देश दिने विश्वास व्यक्त गरे।
साइकल अभियानकर्मी, बौद्धमार्गी एंव भारतको अनाहदी यात्राका गरी ७० जनाको टोलीले आइतबार सम्म तीन दिन साइकलमा यात्रा गर्ने संयोजक उषा तितिक्षुुले जानकारी दिइन्। पञ्चशील पालना गर्दै हरेक दिन ध्यान, साधनासहित बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु यात्रा बुद्धको मावली देवदह, रामग्राम हुँदै कुशीनगरमा पुगेर समापन गरिने उनले बताइन्।
नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले भगवान् बुुद्धको जन्मस्थानबाट बौद्ध परिपथ साइकल यात्रा सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै लुम्बिनीमा पनि साइकलबाट भ्रमण गर्ने व्यवस्था मिलाउन माग गरे।
प्राध्यापक डा. तारालाल श्रेष्ठ, भारतीय पत्रकार पुष्पराज शास्त्रीले साइकल यात्रा अन्य बेलामा पनि भएको तर बौद्ध परिपथमा ध्यान र साधना सहितको पहिलो साइकल यात्रा भएकाले उत्साही भएको उल्लेख गरे।
साइकल यात्राको पहिलो दिन शुुक्रबार भैरहवा हुँदै देवदह र रामग्रामसम्मको यात्रा हुँदै छ। दोस्रो दिन शनिबार रामग्रामबाट महेशपुर नाका हुँदै भारतको महाराजगन्ज पुगेर बास बस्ने र तेस्रो दिन आइतबार महाराजगन्जबाट कुशीनगरमा पुगेर समापन गरिने कार्यतालिका छ। साइकल यात्रीले यात्रा सुरु गर्नुअघि मायादेवी मन्दिरअगाडि ध्यान गरेका थिए।



