नागरिकता विधेयक टुङ्ग्याउन गृहले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

२०७८ फाल्गुन २६, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

फागुन २६
गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको छ ।

बुधवार गृह मन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई अघि बढाउने र टुङ्ग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू को सहयोग लिने बताउनुभयो । नागरिकताको विषय धेरै संवेदनशील र दुरगामी असर गर्ने भएकोले राजनीतिक रूपमा आम सहमति बन्नुपर्ने आवश्यकता रहेको खाणको भनाइ छ ।
खाण ले यसबारेमा पार्टीका शीर्षस्थ नेताहरू र पार्टी अध्यक्षहरूलाई जानकारी गराइने पनि उल्लेख गर्नुभयो ।

मन्त्री खाणले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जन्मसिद्ध नागरिक र अङ्गीकृत नागरिकलाई सबैभन्दा बढी समस्या भइरहेको बताउनुभयो । बडुले नागरिकता नपाउँदा राज्यका सेवा, सुविधाबाट वञ्चित भइरहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो । मन्त्री बडूले नागरिकताको विषय धेरै पेचिलो बन्दै गएको र यो विषय दलीय सहमतिमा लगेर तत्काल टुङ्ग्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री बडूले धेरै समय नागरिकहरूलाई नागरिकता विहीन बनाउनु नहुने भन्दै यसको समस्या तत्काल समाधान गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नागरिकता विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा २०७५ सालको साउनमा दर्ता भएर छलफलमा नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय