साउन ९ ,
जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका डा. बाबुराम भट्टराईले नयाँ दल गठन गर्ने भएका छन्। नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ।
गत फागुनमा नै निर्वाचन आयोगमा दर्ता भएको ‘समावेशी लोकतान्त्रिक पार्टी’ को नाम परिवर्तन गराएर नेपाल समाजवादी पार्टी बनाउन लागिएको एक नेताले जानकारी दिए।



समावेशी लोकतान्त्रिक पार्टी दीपक लामिछानेको नाममा दर्ता भएको थियो। सो पार्टीको चुनाव चिन्ह आँखा राखिएको छ। माओवादी केन्द्रबाट अलग भएर डा. बाबुरामले २०७४ को निर्वाचनमा नयाँ शक्ति पार्टीबाट आँखा चुनाव चिन्ह लिएर गोरखाबाट चुनाव लडेका थिए। त्यही आँखा चिन्ह लिएर बाबुरामकै ग्रिन सिग्नलमा निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक दीपक लामिछानेका नाममा दर्ता भएको थियो।
अहिले सोही दलको नाम र विधान परिवर्तन गरेर डा. भट्टराईको अध्यक्षतामा ‘नेपाल समाजवादी पार्टी’ दर्ता गर्नेगरी तयारी थालिएको हो।
निर्वाचन आयोगसँग सो दलको विधान र नेतृत्व परिवर्तन गराउनेबारे परामर्श अघि बढेको एक नेताले जानकारी दिए।
उनले भने, ‘कानूनी प्रक्रियाबारे बुझ्न थालिएको छ,एक दुई दिनमै टुंगो लाग्नेछ।’
निर्वाचन आयोगको कानुनी प्रकिया केही लामो र झन्झटिलो भएकाले भट्टराई ले फागुनमै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीलाई नै उपयोग गर्नेगरी अघि बढेका हुन्।
जनता समाजवादी पार्टीबाट भर्खरै अलग भएर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ले बेग्लाबेग्लै भेला गरिसकेका छन् । बहुमत आफ्नो साथमा रहेकाले यादवले जसपा नाम प्रयोग गर्न पाएका छन् भने डा. भट्टराईले नयाँ दल दर्ता गर्नुपर्ने बाध्यता आइलागेको छ।
नेपाल समाजवादी पार्टी बनाइसकेपछि डा. भट्टराईको योजना माओवादी र एकीकृत समाजवादीसँग मिलेर समाजवादी केन्द्र बनाउने रहेको भट्टराई निकट एक नेताले बताए ।
पछिल्लो समय प्रचण्डसँग भेटेर डा. भट्टराईले पार्टी एकताको प्रस्ताव राखिसकेका छन् ।



