जेठ २९
नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसकेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “हामीले संसदबाट एमसीसी त पास गर्यौं तर बीआरआईलाई बेवास्ता गर्यौं । अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले एकातिर कोल्टे फेरेको छ। चीन लामो समयदेखिको नेपालको असल छिमेकी हो । टाढाको देउता, नजिकको भूत भन्ने हाम्रो लोकोक्ति नै छ । हामीले भारत र चीनको सम्बन्धको फाइदा उठाउन सकेनौं भने भोलि मुलुक ठूलो संकटमा जान सक्छ । नजिकको छिमेकीको नाताले अमेरिकाभन्दा चीनसँगको सम्बन्धलाई अगाडि बढाउनु उचित हुन्छ ।”
पछिल्लो समय अमेरिकी गतिविधि बढेकाले त्यो अध्ययनको विषय भएको पनि गजुरेलले बताए । उनले कम्युनिस्ट पार्टीहरु मिलून् भन्ने चिनियाँ सदासयता स्वाभाविक भएको बताए ।
अर्को प्रसंगमा उनले कृषि मन्त्रीले समयमै काम नगर्दा मल नआएको बताए । गजुरेलले भने, “मैले नाकाबन्दीमा समेत कर्मचारीलाई कोलकाता पठाएर मल ल्याएको थिएँ । कृषि मन्त्रीजी बल्ल भारत जानुभयो । कृषिको कुरा गर्ने, मल नदिने गर्दा कसरी समृद्धि हासिल गर्न सकिन्छ ?
नेकपा (एकीकृत समाजवादी)ले मन्त्री परिवर्तन गरेपछि त्यसको स्वाभाविक प्रभाव गठबन्धन दलहरुमा परेको पनि उनले औंल्याए ।
अर्थमन्त्री र गृहमन्त्री को सफल भन्ने पत्रकार धमलाको प्रश्नमा नेता गजुरेलले भने, “हामी गठबन्धनमै छौं । स्थानीय तहको चुनाव शान्तिपूर्वक सम्पन्न भयो, गृहमन्त्री सफल मानिनुभयो । मूलभूत रुपमा राम्रो बजेट ल्याउनुभयो, अर्थमन्त्री पनि सफल नै मानिनुहुन्छ । तर नेपालमा को सफल हुन्छ र ? नयाँ संविधान अनुसार पार्टी, संसद् र सरकार सञ्चालन चलेका छैनन् । पञ्चायतको निरन्तरता बहुदलमा भयो बहुदलको निरन्तरता गणतन्त्रमा छ । यसमा दलहरुको गम्भीर हुनैपर्छ ।”






