मसिर ६
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर बेल्ट एन्ड रोड (बिआरआई) लगायतका सम्झौताहरू कार्यान्वयन गरेर चीनसँगको सहयोग र सम्बन्धलाई गहिरो बनाउनुपर्ने बताएका छन् । साथै उनले सोही सहयोगमार्फत राष्ट्रिय विकास र निर्माण कार्यलाई गति प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता समेत रहेका खनालले बिहीबार विज्ञप्ति जारी गर्दै उत्तरी छिमेकी मुलुक चीनले करिब १० वर्ष अघि सारेको बेल्ट एन्ड रोड पहलकदमी एउटा विश्वव्यापी अवधारणा र परियोजना बनेको उल्लेख गरेका छन् ।
‘विगत १० वर्षको अवधिमा बदलिँदो विश्व परिवेशमा बेल्ट एन्ड रोड परियोजनामा विश्वका १५३ मुलुकहरू एक वा अर्को सम्झौतामा जोडिई सकेका छन, खनालले भनेका छन्, ‘ती मुलुकहरूमा ३००० भन्दा बढी ठुला, मझौला र साना योजनाहरूमा सम्झौता भएका छन् र तिनीहरू लागु भइरहेका छन् ।’
उनले ती परियोजनाहरूमा अहिलेसम्म १.४ ट्रिलियन डलर भन्दा बढी लगानी भइसकेको भन्दै विभिन्न देशमा लाखौँ लाख जनताले रोजगारी समेत प्राप्त गरिहरेको बताएका छन्।
नेपालले २०१७ मा बिआरआई सम्झौता गरेपनि नेपालका सरकारहरू पश्चिमा शक्तिहरूको चीनविरोधीहरुले बिआरआई सहयोगलाई “ऋण पासो” का रूपमा व्याख्या गरेर नेपाल र नेपालीको भाग्यमाथि खेलबाड गरिरहेको आरोप लगाएका छन् ।
उनले विआरआई कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ दुई दलले ठोस निणर्य गर्न नसक्नु मुलुककै निम्ति विडम्बना भएको समेत बताएका छन् ।
‘त्यहीँ बीआरआई विश्वका १५३ देशहरूका लागि हितकर हुने तर नेपालको निम्ति “ऋण पासो” कसरी हुन्छ ? यो कहाँको स्टान्डर हो ?’भन्ने प्रश्न गरेका छन् ।