वैशाख ९
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सीमानामा नाकाबन्दी भयो भन्नु आधारहीन भएको बताएकी छन् ।
पछिल्ला वर्षमा द्विपक्षीय व्यापार वृद्धि भइरहेको र चीनमा नेपालको निर्यात बढेको भन्दै उनले सीमा नाकामा परिस्थितिजन्य कारणले उत्पन्न समस्यालाई नाकाबन्दी भनिएकामा असन्तुष्टि जनाइन् ।



‘चिनियाँ पक्षको तथ्यांक अनुसार २०२१ मा चीन र नेपालबीचको व्यापारको मात्रामा ६७ प्रतिशत वृद्धि भएर २ खर्ब ४१ अर्ब २३ करोड भन्दा बढी पुगेको छ । नेपालबाट चीनमा हुने निर्यात ६३ प्रतिशत वृद्धि भएको छ’, बिहीबार सञ्चारकर्मीसँगको भर्चुअल अन्तक्र्रियामा यान्छीले भनिन्, ‘यसले नेपालमाथि भएको भनिएको कथित नाकाबन्दी आधारहीन छ भन्ने देखाउँछ ।’
राजदूत यान्छीले केरुङ र तातोपानी नाकाबाट भइरहेको एकतर्फी कार्गो सञ्चालनलाई थप सहज बनाउने र नेपालबाट चीनतर्फ कार्गो यातायात सञ्चालन गर्ने विषयमा छलफल भइरहेको पनि बताइन् ।
‘सीमा नाकालाई थप सहज बनाउनका लागि द्विपक्षीय छलफल गरिरहेका छौँ । दुवै देशका परराष्ट्र मन्त्रालय र सम्बन्धित अन्य अधिकारीबीच छलफल निरन्तर भइरहेको छ,’ उनले भनिन् ।’
महामारीका कारण आर्थिक सुधारमा देखिएको सुस्तताको परिणामस्वरुप नेपाली अर्थतन्त्रले भोगिरहेको समस्याका बारेमा चीन जानकार रहेको पनि राजदूत यान्छीले बताइन् ।
विश्वका अरू मुलुकले पनि यस्तो समस्या झेलिरहेको भन्दै उनले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा समस्या समाधानका लागि विभिन्न सम्झौतामा हस्ताक्षर भएको बताइन् ।
चीनले नेपालको आर्थिक समस्यालाई सन्तुलनमा ल्याउन सहयोग गरिरहेको राजदूत यान्छीको भनाइ छ । चीनले आयोजना गर्न लागेको ‘इन्टरनेसनल इम्पोर्ट एक्सपो’ मा नेपाललाई सहभागी हुन यान्छीले आग्रह गरिन् । त्यसले चीनमा माग रहेको नेपाली उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ ।



