चीनमा कोरोना संक्रमण पुनः फैलिँदै ः सांघाईमा ३ जनाको मृत्यु

२०७९ बैशाख ५, सोमबार
पढ्ने समय : < 1 मिनेट

वैशाख ५,

चीनको सांघाईमा कोरोना संक्रमण बाट ३ जनाको मृत्यु भएको छ । पछिल्लो लकडाउन सुरु भएयता सांघाईमा कोरोनाबाट पहिलो पटक मृत्यु भएको घटना सार्वजनिक भएको हो । संक्रमण फैलिन थालेपछि मार्च अन्तिममा सांघाईमा लकडाउन गरिएको थियो।
मार्च १ देखि सांघाईमा पुनः कोरोना संक्रमण फैलिन थालेको हो । साउथ चाइना मर्निङ पोस्टका अनुसार त्यस यता सहरमा संक्रमितको संख्या ३ लाख ५० हजार नाघेको छ । सांघाई स्वास्थ्य आयोगले सोमबार कोरोना बाट ३ जनाको मृत्यु भएको जानकारी दिएको हो । आयोगका अनुसार मृत्यु हुनेहरूमा ८९ देखि ९१ वर्षका रहेका छन् ।
त्यस्तै उनीहरूले कोरोना विरुद्धको खोप नलगाएको पनि आयोगले बताएको छ । सांघाईका अधिकारीहरूका अनुसार सहरमा ६० वर्षमाथिका करिब ३८ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएका छन् ।

चीनको प्रमुख आर्थिक सहर सांघाईमा पछिल्लो पटक दैनिक औसत २५ हजारका दरले संक्रमण पुष्टि भएको छ । आइतबार मात्र सांघाईमा २२ हजार २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय चीनले ’जिरो कोभिड पोलिसी’ को नीति अपनाएको छ ।

चीनले कतै संक्रमण देखिए पूरा सहरकै नागरिकको कोरोना परीक्षण गर्ने, यात्रामाथि प्रतिबन्ध लगाउने र लकडाउन लागू गर्ने गरेको छ । करिब २ करोड ५० लाख जनसंख्या रहेको सांघाईमा लकडाउन सुरु भएको ३ हप्ता पुग्न लागेको छ । लामो समय लकडाउन हुँदा स्थानीय बासिन्दा आक्रोशित भएका समाचार सार्वजनिक भएका छन् भने स्टकमा राखिएका खाद्यान्न सकिन थालेको बताइएको छ ।
यसअघि मार्च १९ मा चीनको जिलिन प्रान्तमा कोरोनाबाट २ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय