कार्तिक ७
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोख्रेल र एसपी सुभाषचन्द्र बोहोराले नेपाल–भारत सीमास्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन् । बाँकेको कार्यभार सम्हालेलगत्तै प्रजिअ पोख्रेल र प्रहरी प्रमुख बोहोरासहितको टोलीले नेपाल–भारत सीमाअन्तर्गत बघौडा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका हुन् ।
सीमा क्षेत्रका अनुगमन तथा निरीक्षणपछि प्रजिअ पोख्रेल र एसपी बोहोराले सीमा क्षेत्रका नागरिकको समस्याबारे चासो राखेका थिए । सो अवसरमा नरैनापुरका सर्वसाधारणले खुला सीमाका कारण हुने अवैध चोरी, पैठारी तथा सुरक्षाकर्मीबाट खेप्दै आएको समस्या प्रजिअ पोख्रेललाई जानकारी गराएका थिए । आफूले उत्पादन गरेको खाद्यान्न सदरमुकाम नेपालगन्ज लैजाँदासमेत नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको खाद्यान्न भन्दै नियन्त्रणमा लिएर हामीलाई दुःख दिन्छन्,’ एक सर्वसाधारणले भने, ‘आफूले उत्पादन गरेको खाद्यान्न निर्वाध रूपमा लैजाने व्यवस्था मिलाइदिनुप¥यो ।’
स्थानीयको गुनासो सुनेपछि प्रजिअ पोख्रेलले नरैनापुरमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठीक नभएको बताउँदै यसको व्यवस्था मिलाउने आश्वासन दिए । उनले सीमामा हुने अवैध चोरी, निकासी नियन्त्रण गर्न सुरक्षा अधिकारीलाई निर्देशनसमेत दिए । ‘स्थानीय किसानले उत्पादन गरेका खाद्यान्न सहज रूपमा नेपालगन्जसम्म लैजाने व्यवस्था मिलाइनेछ । चोरी–पैठारी नियन्त्रण गर्न सुरक्षाकर्मीसँग समन्वय गरी व्यवस्थापन गरिनेछ,’ प्रजिअ पोख्रेलले भने ।



दसैँको मूर्ति विसर्जन, सीमास्तम्भहरूको अवस्था, सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका अपराध हुन नदिन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलको भनाइ थियो ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरका किसान निकै पीडामा रहेकाले किसानको समस्या समाधान गर्नतर्फ भूमिका खेल्न प्रजिअ पोख्रेलसहित सुरक्षा अधिकारीसँग माग गरे । उनले अर्को प्रसंगमा नरैनापुर धार्मिकतामा अति संवेदनशील ठाउँ भए पनि दसैँको मूर्ति विसर्जन कार्यलाई सौहर्दपूर्ण रूपमा सम्पन्न गर्ने गरी तयारी गरिरएको जानकारी दिए ।



