कार्तिक २
नेपालले बेल्ट एन्ड रोड (बिआरआई) परियोजना सम्झौताअनुसार अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । चीनको राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा बेल्ट एन्ड रोड परियोजना सम्झौताअनुसार अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन ।
चिनियाँ समकक्षी एवं सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठले बुधबार तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च (बिआरएफ)को उद्घाटन सत्रमा नेपाल सरकारका तर्फबाट सहभागिता जनाएका हुन । ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले बहुआयामिक कनेक्टिभिटी नेटवर्क विस्तारमा नेपाल अघि बढ्न चाहेको बताए ।
कार्यक्रममा सहभागी उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भने नेपाल र चीन असल छिमेकी र घनिष्ठ मित्र हुन । हाम्रो साझा समृद्धिका लागि हाम्रा जनताको आकांक्षालाई सम्बोधन गर्न बिआरआई बलियो माध्यम हो । जसले सन् २०२६ मा अल्पविकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने नेपालको तयारीमा समेत सहयोग पु¥याउनेछ ।
नेपालजस्तो भूपरिवेष्टित देशभित्र कनेक्टिभिटीको खाँचो रहेको भन्दै उनले २०१७ मा भएको चीनसँग भएको बिआरआई सम्झौतालाई नेपालले बलियो बनाउन चाहेको बताए । बेल्ट एन्ड रोड परियोजना लागू भएसँगैै नेपाल चीनसँग सडक, रेलमार्ग, हवाईमार्ग, बन्दरगाह र ग्रिडहरूमार्फत जोडिने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
साथै, चीनले अपनाइरहेको पर्यावरणमैत्री विकास रणनीति पनि नेपालमा पूर्वाधार विकासमा समेत लागू हुने अपेक्षा रहेको उनले बताए । नेपालले बेल्ट एन्ड रोड सम्झौतामा २९ वैशाख ०७४ मा हस्ताक्षर गरे पनि हालसम्म ठूला परियोजना सुरु हुन सकेका छैनन । यसबाहेक उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सचिवालय सदस्य वाङ सेवहोङसँग पनि भेटवार्ता गरेका थिए ।



यसै बिच शिखर मञ्चको उद्घाटन सत्रमा बेइजिङमा एक सय ४० देश र ३० वटा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि सहभागी छन । सम्मेलनको उद्घाटनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिआरआई परियोजना विस्तारका मुख्य आठ घोषणा गरेका छन । बिआरआई चीनलाई बाहिरी विश्वसँग जोड्ने दुई व्यापारिक मार्ग स्थापना गर्ने महत्वाकांक्षी चिनियाँ अवधारणा हो ।
राष्ट्रपति सीले बिआरआई सहयोगको संयुक्त प्रयासलाई समर्थन गर्दै आगामी दिनको रूपरेखा राखेका हुन । राष्ट्रपति सीले १० वर्षयता ‘बेल्ट एन्ड रोड’अन्तर्गतका कार्यक्रमले प्रशस्त उपलब्धि हासिल गरेको सुनाए । सीले सन् २०१२ मा सत्तामा आएपछि चिनियाँ बजार विस्तार र विश्वमा चीनको प्रभाव विस्तारका लागि बेल्ट एन्ड रोड अवधारणा अगाडि सारेका थिए ।
बिआरआई विस्तारका लागि अगाडि सारेका मुख्य बुँदामध्ये बहुआयामिक बेल्ट एन्ड रोड कनेक्टिभिटी नेटवर्क निर्माणको बुँदालाई महत्वका साथ हेरिएको राष्ट्रपति सीको भनाइ छ । यसमा चाइना–युरोप रेल्वे एक्सप्रेसको उच्च गुणस्तरीय विकासलाई गति दिने, ट्रान्स–क्यास्पियन अन्तर्राष्ट्रिय यातायात करिडोरमा भाग लिने, चाइना–युरोप रेल्वे एक्सप्रेस कोअपरेसन फोरमको आयोजना गर्ने, युरेसियन महादेशमा नयाँ रसद कोरिडोर निर्माण गर्न संयुक्त प्रयास गर्ने र प्रत्यक्ष रेल र सडक यातायातद्वारा जोडिएको देशमा समेत कनेक्टिभिटी बढाउँदै लाने विषय छन ।
सीका अनुसार यसमा खुला विश्व अर्थतन्त्रलाई समर्थन गर्दै अगाडि बढ्ने, व्यावहारिक सहयोग गर्ने, हरित विकास प्रवद्र्धन गर्ने, वैज्ञानिक र प्राविधिक आविष्कारको विकास गर्ने, जनता–जनताको आदानप्रदानलाई समर्थन गर्ने, अखण्डतामा आधारित बेल्ट एन्ड रोड सहकार्यलाई बढावा दिने र अन्तर्राष्ट्रिय बेल्ट एन्ड रोड सहयोगका लागि संस्थागत निर्माणलाई सुदृढ गर्ने लक्ष्य छ ।
सन् २०१३ मा चीनले सुरु गरेको बिआरआई परियोजना हाल एसिया, ल्याटिन अमेरिका, अफ्रिकालगायत देशमा पुल, बन्दरगाह, राजमार्ग, पावर प्लान्ट र दूरसञ्चार परियोजनाको निर्माणका लागि एक ट्रिलियन अमेरिकी डलर खर्च गरिसकेको छ ।
विश्वका एक सय ५२ भन्दा बढी देश र ३२ भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाले चीनसँग बेल्ट एन्ड रोड सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन । यसअन्तर्गत लगभग १० खर्ब अमेरिकी डलरको लगानी भएको, चार लाख २० हजार रोजगारी अवसरको सिर्जना गरेको र चार करोड मानिसलाई गरिबी अवस्थाबाट उकासेको चिनियाँ दाबी छ । चीनले परियोजना लागू भएका देशमा बन्दरगाह र रेलमार्गदेखि पुलसम्म तीन हजारभन्दा बढी परियोजनामा लगानी गरेको छ ।
चीनले बिआरआई परियोजनासँग जोडिएका देश र अन्तर्राष्ट्रिय संघसंस्थासँग व्यापक परामर्श, संयुक्त साझेदारी र साझा लाभको सिद्धान्त कायम गर्दै एक दशक बिताएको बताएको छ । यसैगरी खुला, हरियो र स्वच्छ सहयोगको दृष्टिकोणमा प्रतिबद्ध रहँदै जनकेन्द्रित र दिगो विकासको लक्ष्य लिएको बिआरआई परियोजना विन–विन कोअपरेसनको बलियो आधार बनेको चीनको भनाइ छ ।
बिआरआई यातायात करिडोरले व्यापार, विदेशी लगानी र सहभागी देशका नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएको विश्व बैंकको पछिल्लो प्रतिवेदनले देखाएको छ । विश्व बैंकको एक प्रतिवेदनअनुसार बिआरआईअन्तर्गतको यातायात पूर्वाधारले यातायात करिडोरमा अर्थतन्त्रको यात्रा समय १२ प्रतिशतले घटाउन सक्ने र व्यापार लागत घटाउनमा मद्दत गरिरहेको उल्लेख गरेको हो । बिआरआईअन्तर्गत यातायात परियोजनाले करिडोर अर्थतन्त्रका लागि २.८ देखि ९.७ प्रतिशत र विश्वका लागि १.७ र ६.२ प्रतिशतको बीचमा व्यापार बढाउने अनुमान गरिएको छ ।
कम आय भएका करिडोर अर्थतन्त्रका लागि एफडिआई प्रवाह ७.६ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । र, सन् २०३० सम्ममा परियोजनाले विश्वव्यापी वार्षिक राजस्वमा १.६ ट्रिलियन अमेरिकी डलर बढाउने अनुमान गरिएको छ ।
यस्तै नीति, पूर्वाधार, व्यापार, वित्त र जनता–जनताको सम्बन्ध अर्थात् यी पाँच सेक्टरलाई प्राथमिकता दिएको परियोजना पछिल्लो १० वर्षमा अन्तर्राष्ट्रिय व्यापारको बलियो माध्यम बनेको छ । यी वर्षमा चीन २५ देशको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ र अन्य १३ देशसँग सातवटा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ ।
द्रुत गतिमा बढेको अर्थतन्त्रका कारण उच्च उत्पादन र बढ्दो श्रम लागतका चुनौती सम्बोधन गर्न चीनले बिआरआई स्थापनाको आधारभूत उद्देश्य बताएको थियो । गएका १० वर्षमा बेल्ट एन्ड रोड परियोजनाले पूर्वाधारमा केन्द्रित अवधारणालाई डिजिटल प्रविधि, सुरक्षा र दिगो विकासजस्ता क्षेत्रमा पनि विस्तार गरेको छ ।



