चिनियाँ कम्पनीले काम शुरु गरे देखि राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुस्त

२०७८ चैत्र ६, आईतवार
पढ्ने समय : 2 मिनेट

चैत ६
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति न्यून देखिएको छ। भेरी नदीको पानी बबई नदीमा खसालेर सिँचाइ र विद्युत् उत्पादन गर्ने यस आयोजनाको उद्देश्य रहेको छ। पहिलो चरणमा उत्साहजनक काम गरेको यस आयोजनामा दोस्रो चरणको काम भने सुस्त बनेको हो।

यो आयोजना सुरु भएको १० वर्ष भयो। आर्थिक वर्ष २०६८÷६९ बाट प्रक्रिया अघि बढे पनि निर्माण आव २०७१÷७२ बाट थालिएको थियो। हालसम्म आयोजना अन्तर्गत आधा काम मात्रै सकिएको छ। आयोजना सम्पन्न गर्न तोकिएको समय सीमा सकिन अब डेढ वर्ष मात्रै बाँकी छ। तर, आयोजनाको कुल प्रगति आधा मात्रै सकिएको हो। हालसम्मको भौतिकतर्फ ५३ प्रतिशत र वित्तीयतर्फ ४५ प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ।
यो आयोजना २०७९÷८० भित्र निर्माण सम्पन्न गरी सक्नुपर्ने छ। आयोजनाले पहिलो चरणमा महत्वपूर्ण मानिएको सुरुङ निर्माण गरिसकेको छ। नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनबाट १२ दशमलव २ किलोमिटर सुरुङ खनिएको छ। यही सुरुङबाट भेरीको पानी बबईमा खसालिनेछ। कठिन र चुनौतीपूर्ण मानिएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा अगाडि सम्पन्न भए पनि दोस्रो चरणको काम सुस्त बनेको हो।

दोस्रो चरणमा पावरहाउस (बाँध र विद्युत् गृह) निर्माणको काम भइरहेको छ। बाँध र पावरहाउस निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन्। ग्वाङ्डोन÷रमणले ६ अर्ब १६ करोड ५२ लाख १५ हजार ७७५ रुपैयाँको ठेक्का लिएका हुन्। अहिले नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ वटा ढोका राखेर बाँध निर्माणको काम भइरहेको छ। सम्झौताअनुसार ठेकेदार कम्पनीले अबको डेढ वर्षभित्र विद्युत् गृहको निर्माण सक्नुपर्नेछ। दोस्रो चरणका कामहरू नै सुस्त बनेपछि आयोजनाको तेस्रो चरणका काम पनि प्रभावित बनेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय