नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, १० वटा ट्रक चीन प्रस्थान

२०८० असार ३१, आईतवार
पढ्ने समय : < 1 मिनेट

असार ३१
नेपालबाट आधिकारिक रूपमा पहिलोपटक प्रशोधित घाँस (हेलेज) चीनमा निर्यात सुरु भएको छ। नेपालबाट उक्त घाँस चीनको सिगात्सेमा निर्यात सुरु भएको हो।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले एक कार्यक्रमबीच औपचारिक रूपमा हेलेज निर्यातको शुभारम्भ गरेका हुन्।

भरतपुरबाट ८० टनसहित १० वटा ट्रक चीनतर्फ हेलेज बोकेर प्रस्थान गरेका छन्। भरतपुर ५ मा चिनियाँमार्फत नै सञ्चालन गरिएको उद्योग न्यू होराइजन प्रालिले हेलेजको उत्पादन गरेको हो।

उद्योगले नेपाली कृषकले उत्पादन गरेको डाँठसहितको मकैलाई खरिद गरेर हेलेज बनाएको छ। उनीहरूले यो साइलेज चीनमा यसै कम्पनीबाट सञ्चालनमा रहेको चौरी फर्ममा प्रयोग गर्ने च्याङ जिङले बताए।

यो कम्पनीले वार्षिक ६० हजार मेट्रिक टन उत्पादन गर्न सक्छ। उनीहरूले चाइना स्थित प्रतिचौरी फर्ममा १० लाख टन आवश्यक रहेको बताए। नेपाल सरकारको अनुमति अनुसार कम्पनीले उद्योग विस्तार गरेर तीन लाख टन वार्षिक उत्पादन गरेर हेलेज चीन लैजाने तयारीमा छ।

हरियो घाँसलाई काटेर प्लास्टिकमा हावा नछिर्ने गरी बेरेर हेलेज र साइलेज बनाइन्छ। जसलाई बुझ्नका लागि गुन्द्रुकजस्तो भन्दा पनि हुन्छ। ह्ेलेज चीन निर्यात गर्न मन्त्रिपरिषद्ले १३ मंसिरमा चीनका लागि प्रोटोकल स्वीकृत गरेको थियो।

भविष्यमा जौ सँगै नेपियर लगायतका विकासे घाँसबाट पनि हेलेज बनाउने उद्योगको लक्ष्य छ। नेपाल मा विशेष गरी मकैबाट साइलेज र हेलेज उत्पादन गरिँदै आएको छ।

सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखिने यो पशु आहारका लागि अत्यन्त उपयुक्त मानिन्छ। पशुको तौल र अवस्था हेरेर यो आहार दिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय