नेपाल–बंगलादेश ऊर्जा वार्ताः ५० मेगावाट बिजुली लैजान तयार, भारतलाई मनाउने सहमति

२०८० जेष्ठ २, मंगलवार
पढ्ने समय : 2 मिनेट

जेठ २

चरम ऊर्जा संकट खेपिरहेको बंगलादेश नेपालबाट ५० मेगावाट बिजुली तत्कालै लैजान तयार भएको छ।

सोमबारदेखि सुरु भएको नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा उनीहरु तयार देखिएका हुन्। सोमबार सहसचिवस्तरीय बैठकमा उनीहरुले तत्कालै बिजुली लैजान तयार भएका हुन। जसको नेतृत्व नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवालले गरेका छन्। यो बैठकले छलफल गरेका एजेण्डामाथि मंगलबारको सचिवस्तरीय बैठकले स्वीकृति दिने छ।

बंगलादेशमा भइरहेको सचिवस्तरीय बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले गरेका छन्।

पहिलो दिनको बैठकको नेतृत्व गरेका सहसचिव भेटुवालले विद्युत व्यापार, प्रसारणलाइन, त्रिपक्षीय सम्झौताका एजेण्डामा छलफल भएको बताए।

नेपाल–बंगलादेशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारणलाइन निर्माण गर्ने विषयमा छलफल भएको छ। अहिले भारत र बंगलादेशबीच व्यापार भइरहेको प्रसारणलाइनबाट ५० मेगावाट लैजाने विषयमा छलफल भएको हो। भविष्यमा व्यापारको आयतन वृद्धि गर्नका लागि डेडिकेटेड प्रसारणलाइन निर्माण गर्न छलफल भएको हो।

भारतको बाटो हुँदै लैजाने भएकाले उसलाई मनाउन जरुरी छ। भारतले ग्रीन सिंग्नल दिएको भएपनि नेपाल–बंगलादेशबीच विद्युत व्यापारको स्वीकृति दिएको छैन।

नेपालमा संयुक्त रुपमा जलविद्युत आयोजना निर्माण गर्ने विषयमा पनि छलफल भएको भेटुवालले बताए। ऊर्जा क्षेत्रमा क्षमता अभिवृद्धिका लागि नेपाल,भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता समेत गर्ने विषयमा छलफल भएको छ। दुई देशका बीचमा अनुभव साटासाट भएको भेटुवालले जानकारी दिए।

बंगलादेशका स्थानीय संचारमाध्यमका अनुसार बैठकमा विद्युत आयातका लागि भारत–बंगलादेश अन्तरसम्बन्ध जोड्ने, भारतीय कम्पनी जीएमआरद्वारा नेपालबाट भारत हुँदै बंगलादेशमा ५०० मेगावाट जलविद्युत ल्याउने प्रस्तावित सम्झौतामा हस्ताक्षर गर्ने विषयमा छलफल भएको छ। जीएमआर त्यहि कम्पनी हो, जसले माथिल्लो कर्णाली निर्माणको जिम्मा पाएको छ।

बंगलादेशले पटक पटक नेपालबाट बिजुली लैजान इच्छा समेत प्रकट गर्दै आएको छ। ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५०० मेगावाट बिजुली लैजान प्रस्ताव गरिसकेको छ। ६८३ मेगावाटको सुनकोसी–३ जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गरेर लैजान खोजेको छ। यो आयोजनाको उनीहरुका प्राविधिकसहितको टोली आएर स्थलगत निरीक्षण समेत गरिसकेको छ।

अहिले बंगलादेशलाई स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्ने अन्तराष्ट्रिय दबाब छ। सोही कारण उसले नेपालबाट जलविद्युत आयोजना बनाएरै भएपनि लैजान चाहेको हो। त्यसो त ऊर्जा संकटका कारण बंगलादेशमा दैनिक ६÷७ घण्टा लोडसेडिङ हुने गरेको छ।

स्थानीय संचारमाध्यमका अनुसार बंगलादेशको राजधानी ढाका सहरमा मात्रै दिनमा ६०० मेगावाट विद्युत अपुग हुन्छ। जबकी रातको तुलनामा दिनमा विद्युतको माग कम छ। पछिल्ला केहि दिनहरुमा देशभर २००० मेगावाट बिजुली अपुग छ।

परिणाम स्वरुप मुलुकभरका उपभोक्ताले दैनिक ७ घण्टासम्म विद्युत कटौतीको सामना गरिरहेका छन् । ‘साँझ पछि, माग बढ्दै जाँदा स्थिति बिग्रन्छ,’ बंगलादेश पावर डेभलपमेन्ट बोर्डका एक शीर्ष अधिकारीले स्थानीय संचार माध्यमसँग भने,’वास्तवमा, हामीले ग्यासको कम आपूर्ति पाइरहेका छौं, जसले हामीलाई देशभरि कम्तिमा २५ वटा जेनेरेसन युनिटहरू बन्द राख्न बाध्य पारेको छ।’

संचारमाध्यमका अनुसार ग्यासको आपूर्ति सामान्य भएमा त्यसबाट चल्ने प्लान्टबाट ६ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय