अग्नी सापकोटा नेतृत्वमा माओवादी केन्द्रको टोली चीन जाँदै

२०८० बैशाख ३१, आईतवार
पढ्ने समय : < 1 मिनेट

वैशाख ३१,

पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटा चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सापकोटाको नेतृत्वमा माओवादी केन्द्रका नेताहरुको टोली शुक्रबार चीन जान लागेको हो।
माओवादी केन्द्रका पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले सापकोटाको नेतृत्वमा अध्ययन भ्रमणका लागि पार्टीका नेताहरु चीन जान लागेको जानकारी दिए। स्रोतका अनुसार, भ्रमण दलमा प्रत्येक प्रदेशबाट १÷१ जना र जनवर्गिय संगठनका नेताहरु रहने छन्। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अनुमोदन भएपछि चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रका नेताहरुबीच सुमधुर सम्बन्ध छैन।

एमसीसी पारित भएका बेला सापकोटा नै प्रतिनिधि सभाका सभामुख थिए। एमसीसी पारित हुनु, बीआरआई अन्तर्गतका परियोजनाहरु अघि बढ्न नसक्नुले चीनले नेपालका कम्युनिष्ट नेताहरुलाई शंकाको घेरामा राखेका छ।

सापकोटाले नै संसदमा एमसीसी टेबल गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, त्यसबेलाका सभामुख सापकोटा लगायतका माओवादीका नेताहरुले कुनै पनि हालतमा एमसीसी पारित नगर्ने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु सामु प्रतिबद्धता जनाएका थिए। तर, माओवादी केन्द्रका अध्यक्ष दाहाल लगायतले प्रतिबद्धता विपरित २०७८ फागुन १५ गते एमसीसी पारित गरेपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको सम्बन्ध सुमधुर छैन।

कोरोना संक्रमणपछि लागेको प्रतिबन्ध हटाएपछि नेपाल र चीनबीचका भ्रमणहरु सुरु भएको छ। चीनबाट समेत उच्चस्तरीय भ्रमणको तयारी भइरहेको छ।

माओवादी केन्द्रका एक नेताका अनुसार, सापकोटा नेतृत्वको माओवादी केन्द्रको प्रतिनिधिमण्डल चीन जानुको उद्देश्य भनेकै दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई बलियो बनाउनु हो। भ्रमणका क्रममा सापकोटाले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन्। पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि बेइजिङमा छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय