
कात्तिक ३,
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनको अवसरमा फ्रेन्डस् अफ सिल्क रोड क्लब–नेपालले बिहीबार ‘चीनको अद्भुत दशक’ नामक एक दिने फोटो प्रदर्शनीको आयोजना गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गरिएको सो प्रदर्शनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन।्
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।



मन्त्री श्रेष्ठले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए। उनले नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, साँस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएको बताए। जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख उनले गरे।
चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको उनको भनाइ छ। उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे।
मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताए। चीनको विकास, उन्नती र आर्थिक प्रगतिको कामना गरे।
त्यस्तै नेकपा मालेका महासचिव सीपी मैनालीले चीनले हासिल गरेको सफलताको बारेमा चर्चा गरेका थिए । प्रदर्शनीबाट चीनले चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको उपलब्धि र विकासबारे नेपाली जनतालाई जानकारी दिने उद्देश्य लिइएको क्लबका अध्यक्ष डा. कल्याण शर्माले बताए ।
प्रदर्शनीमा चीनको भौतिक निर्माण, ग्रामीण विकास, तिब्बतमा भइरहेको विकास, चीनको स्वास्थ्य सेवा, नेपाललाई चीनको सहयोग, राष्ट्रपति सी जिनपिङका भनाई, चीनको आर्थिक विकास लगायत विषयबारे जानकारी दिइएको छ ।



