भदौ २७
चीनको तेस्रो वरीयतामा रहेका नेता ली जान्सु सोमबार काठमाडौं ओर्लिने भएका छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गरेयता काठमाडौं ओर्लिने उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्। चीनको संविधान अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ पछि ली दोस्रो वरियताका नेता हुन् । तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरीयतामा ली पर्छन्। सन् २०२२ को मार्च अन्तिम साता चिनियाँ विदेशमन्त्री वाङ यी र जुलाईको मध्यमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका नवनियुक्त प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमण गरेका थिए।
नेपालसहित चार देशको भ्रमणका लागि उनी ७ सेप्टेम्बरमा बेइजिङबाट उडेका थिए। ७–१० सेप्टेम्बरमा रुस भ्रमण गरेका चिनियाँ नेता लिले १०–१२ सम्म मंगोलिया भ्रमण गर्नेछन्। १२ सेप्टेम्बरमा काठमाडौं ओर्लिने लीले १५–१७ सम्म दक्षिण कोरिया जाने कार्यतालिका रहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।



रुसी समकक्षी भ्याचेसलाभ भोलोदिनको निमन्त्रणामा ७ सेप्टेम्बर रुस पुगेका चिनियाँ नेता लि ले रुसी राष्ट्रपति भलादिमिर पुटिन सहितका नेताहरुसँग भेटवार्ता गरेका थिए। पुटिनसँगको भेटका क्रममा चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनको ’रणनीतिक मार्गदर्शन र व्यक्तिगत प्रयास’ र चीन–रुसबीचको बृहत् रणनीतिक साझेदारीको समन्वयले नयाँ युगको विकासले बलियो गति कायम गरेको बताएका थिए। दुई देशबीचको राजनीतिक आपसी विश्वास, रणनीतिक समन्वय र व्यावहारिक सहयोग अभूतपूर्व स्तरमा पुगेको भन्दै छिमेकी राष्ट्रहरूबीच असल मित्रता र विन–विन नीतिले सम्बन्ध बलियो भएको पनि बताएका थिए।
कोरोना महामारीपछि पहिलो पटक विदेश भ्रमणमा निस्किएका लिको रुस भ्रमणलाई पश्चिमा राष्ट्रहरुले भने नजिकबाट नियाली रहेका छन्। युक्रेनमाथि आक्रमण गरिरहेको रुसमा भएको चिनियाँ तेस्रो वरीयताका नेता लिको भ्रमणलाई रुसलाई गरिएको समर्थनको रुपमा व्याख्या गरेका छन्।
१० सेप्टेम्बरमा रुसको भ्रमण सकेर लि मंगोलिया भ्रमणमा निस्किएका हुन्। मंगोलियाका सभामुखको निम्तोमा त्यहाँ पुगेका उनले सभामुख खुरालजी जानडानस्हाटार सहित राष्ट्रपति यू खुरेलसुख र प्रधानमन्त्री एल.ओयून–इर्देनसँग पनि भेटवार्ता गरेको मंगोलियाको सरकारी सञ्चारमाध्यम मोन्टसेम डट एमएनले जनाएको छ।
मंगोलिया भ्रमण सकेर चिनियाँ नेता लि सोमबार अपरान्ह नेपाल ओर्लिने भएका छन्। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारी रहेको नेपालमा हुन लागेको उनको भ्रमणलाई नेपालमा हालैका महिनाहरूमा बढिरहेको अमेरिकी चासोसँग जोडेर हेर्न थालिएको छ।
नेपाल इन्स्टिच्यूट फर इन्टरनेश्नल कोअपरेशन एन्ड इन्गेजमेन्टका अनुसन्धान निर्देशक प्रमोद जयसवाल ले बेइजिङको शीर्ष नेता लिको भ्रमणलाई पछिल्लो समय नेपालमा बढ्दो अमेरिकी चासोसँग जोडेर हेर्नुपर्ने बताउँछन्। उनले भने,’ चिनियाँहरुकै इन्टरेस्टमा यो भ्रमण हुन लागेकोजस्तो देखिन्छ। अहिले अमेरिकाबाट पनि नेपालको नियमित भ्रमण भइरहेको समयमा त्यसलाई नजिकबाट नियालीरहेको चीनले आफैं उपस्थित भएर यहाँको गतिविधिबारे जानकारी लिन चाहेकोजस्तो देखिन्छ।’
अहिलेको भेटका क्रममा पनि बीआरआईको विषयमा पनि कुरा हुनसक्ने बताइएको छ। तर, नेपाल सरकारले छलफलका एजेण्डाबारे भने केही बोलेको छैन।
चीन र अमेरिकाबीच बढ्दो प्रतिद्वन्द्वी प्रतिस्पर्धामा फसेको समयमा बेइजिङको कूटनीतिक प्राथमिकता आफ्ना छिमेकीहरूसँगको सम्बन्धलाई थप सुधार गर्न रणनीति अन्तर्गत चिनियाँ शीर्ष नेताको भ्रमण भइरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। साउथ चाइना मर्निङ पोस्टमा भनिएको छ, ’बेइजिङले नेपालीलाई सडक र उर्जा क्षेत्रको सुधारका लागि ५० करोड डलरको अमेरिकी अनुदान सहायतालाई रोक्ने प्रयास गरेपछि नेपालसँगको सम्बन्धमा चिसोपना आएको थियो। नेपाललाई आफू साथमै रहेको विश्वास दिलाउनका लागि चीनले प्रयास गरिरहेको छ। तर, काठमाडौंले जुनमा वासिङ्टनसँगको सुरक्षा साझेदारी खारेज गरेपछि भने बेइजिङले ’प्रशंसा’ गरेको थियो।
त्यसैगरी पश्चिमा राष्ट्र र विशेष गरी अमेरिकाले तिब्बत र ताइवान मामिलामा आक्रामक नीति लिएपछि चीनले छिमेकी मुलुकमा त्यसको प्रभावबारे बुझ्न र त्यहाँको संसद्बाट कुनै पनि यस्ता कानुनहरु अघि बढ्न नहुने कुराको सुनिश्चिता बारे खोजी गर्दै उनको भ्रमण हुन लागेको हो।
यसअघि अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणका क्रममा पनि काठमाडौंस्थिति चिनियाँ राजदू होउ यान्छीले नेपाल बोलिदिनुपर्छ भन्दै अपिल गरेकी थिइन्। त्यसपछि नेपाल सरकारले पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको कुरा दोहो¥याएको थियो। यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणका क्रममा समकक्षीसँगको छलफलमा पनि एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याएका थिए।
काठमाडौंस्थित चिनियाँ दूतावासले यो उच्चस्तरीय भ्रमणले नेपाल चीनबीचको मित्रतालाई थप अभिवृद्धि गर्ने टिप्पणी गरेको छ। चिनियाँ नेताको भ्रमणले आवश्यक प्रतिबद्धता कार्यान्वयनका लागि चीनको गम्भीरता झल्काउने पनि दूतावासले जनाएको छ। विश्वव्यापी रूपमा देखा परिरहेको नाटकीय भूराजनीतिक परिवेशमा ’हिमालय क्षेत्रमा स्थिरता र समृद्धि’ कायम राख्नु नेपाल र चीनको साझा हितमा रहेको दूतावासले जनाएको छ।
पछिल्लो समयमा चीनले नेपाललाई आफूसँग हस्ताक्षर गरेको बेल्ट एन्ड रोड परियोजना कार्यान्वयनमा लैजान अग्रसरता दिन सार्वजनिक रूपमा नै अनुरोध गर्दै आएको छ। तर, नेपाल सरकारले भने उक्त परियोजनालाई चर्को ब्याजको ऋणमा स्वीकार गर्न नसकिने बताइरहेका छन्। उच्चस्तरीय भेटवार्ताहरूमा चीनको तर्फबाट उठाइएको उक्त महत्त्वाकांक्षी कार्यक्रमका बारेमा नेपालको परराष्ट्र मन्त्रालयले हालैका महिनाहरूमा निकालेका विज्ञप्तिहरू मौन देखिन्छन्। अहिलेको भेटका क्रममा पनि बीआरआईको विषयमा पनि कुरा हुनसक्ने बताइएको छ। तर, नेपाल सरकारले छलफलका एजेण्डाबारे भने केही बोलेको छैन।
गत अप्रिलमा भएको भर्चुअल वार्ताका क्रममा सभामुख सापकोटाले चिनियाँ स्थायी कमिटी अध्यक्ष लिलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा लि ले समकक्षी सापकोटासहित शीर्षस्थ नेताहरूलाई भेट्ने गर्ने कार्यक्रम छ।
होटल सोल्टीमा आवासको व्यवस्था गरिएको उनलाई सभामुख सापकोटाले सोही होटलमा रात्रीभोजको कार्यक्रम तय गरेका छन्। लीले भदौ २८ मा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै, भदौ २९ मा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने छन्।
सोही दिन अध्यक्ष लीले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। भदौ २८ मै अध्यक्ष लीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ।



