भैरहवा,
भदौ १३
आफ्नो ५० औं वार्षिकोत्सवको अवसरमा पञ्चकन्या समूहले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित उद्योगमा निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । सहयात्री नेपालको सहकार्यमा सोमबारदेखि सुरु भएको शिविर भदौ १६ गतेसम्म सञ्चालन हुने समूहले जनाएको छ ।



सोमबार शिविरको एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिका–१५ का वडाअध्यक्ष खेमराज गुरुङले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै वडाअध्यक्ष गुरुङले पञ्चकन्या समूहले निःशुल्क दन्त शिविर आयोजना गर्नु सराहनीय रहेको बताए । उनले भने, ‘यस्ता कार्यक्रम अन्य उद्योगले पनि सञ्चालन गर्नुपर्छ ।’
पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले समूहले आफ्नो स्थापनाको ५० औं वर्षको अवसरमा निःशुल्क दन्त शिविर आयोजना गरेको बताए । उनले शिविरमार्फत उद्योगमा कार्यरत श्रमिक, कर्मचारी, उनीहरुको परिवार, उद्योगको उत्पादनका विक्रेता, वितरक तथा उद्योग आसपासमा बसोबास गर्ने स्थानीय समेत गरी १ हजार २ सय जनालाई निःशुल्क सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए । उनले आगामी दिनमा आँखा शिविर, वृक्षारोपण लगायतका कार्यक्रम गर्ने जानकारी दिए । उपमहाप्रबन्धक साहुले भने, ‘पञ्चकन्या समूहको उद्देश्य नाफा कमाउनु मात्र होइन, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अगाडि बढाउनु पनि हामीले आफ्नो जिम्मेवारीको रुपमा लिएका छौं । ’ रुपन्देही क्षेत्रको औद्योगिक विकासको प्रारम्भिक रुपरेखा कोर्ने पञ्चकन्या समूहले उद्योग सञ्चालनसँगै सामाजिक उत्तरदायित्वलाई समेत विशेष महत्व दिदै आएको उनले बताए । समूहले निरन्तर रुपमा उद्योग आसपासका क्षेत्रमा वृक्षारोपण, ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने कार्यक्रम, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान विगतका वर्षहरुदेखि नै गर्दै आएको उनले बताए ।
सहयात्री नेपालका अध्यक्ष दिपेश घिमिरेले निःशुल्क दन्त शिविरमा परामर्श, दन्त परीक्षण, दाँत सफा गर्ने लगायतका सेवा उपलब्ध हुने बताए । उनले शिविरमा सहयात्री नेपालको तर्फबाट ८ जना दन्त चिकित्सक तथा ४ जना नर्स गरी १२ जना स्वास्थ्य जनशक्तिसहित आवश्यक औषधी र उपकरणहरुको सहयोग रहेको जानकारी दिए।
पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुको अध्यक्षता, तिलोत्तमा–१५ का वडाअध्यक्ष खेमराज गुरुङको प्रमुख आतिथ्यता, तिलोत्तमा–१५ का वडा सचिव मान बहादुर खातीको विशिष्ट आतिथ्यता, उद्योगका इञ्जिनियर मिलन थापाको स्वागत तथा प्रशासन प्रबन्धक राजेन्द्र ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पञ्चकन्या समूहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले वि.सं. २०२९ सालमा पूर्वी नेपालको इलाममा पञ्चकन्या राईस मिल स्थापना गर्दै यस समूहको औद्योगिक यात्रा सुरु गरेका थिए । जुन यात्रा वि.सं. २०३८ सालमा रुपन्देहीको कोटिहवामा प्लाष्टिक पाइप उद्योग स्थापना गरे पश्चात दु्रत गतिमा अगाडि बढ्यो । वि.सं. २०३९ सालमा आइरन उद्योग, २०४६ सालमा पी.भी.सी. पाइप उद्योग, २०५४ सालमा फलामे छड उद्योग, २०६३ सालमा सी.पी.भी.सी. पाइप उद्योग तथा २०७१ सालमा स्टेनलेस स्टिल ट्यांकी उद्योगको स्थापना गर्दै उद्योगले आफ्नो ५० वर्षको यात्रा पार गरेको छ ।



