तिब्बती सिमानामा बिओपी राख्न २० रोपनी जग्गा उपलब्ध

२०७९ भाद्र १, बुधबार
पढ्ने समय : < 1 मिनेट

भदौ १

गोरखा र तिब्बतको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) राख्न २० रोपनी जग्गा उपलब्ध गराइने भएको छ।

जिल्ला सुरक्षा समितिले चुमनुब्री गाउँपालिका–१ साम्दोमा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो। सोमबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि साउन १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले वडा नं. १ को साम्दोमा बिओपी स्थापनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो।

सोही सिफारिसको आधारमा समितिले पनि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ। सो जग्गा सार्वजनिक प्रकृतिको रहेको छ।

सार्वजनिक जग्गा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले सम्बन्धित निकायमा सिफारिस लेखी पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

’सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्बन्धी मापदण्ड २०७७ दफा ६ को सिफारिस समितिले सम्बन्धित निकायमा सिफारिस गर्ने प्रावधान अनुसार हामीले सिफारिस गरेका हौँ’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने।

दुई वर्षअघि चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पारको जग्गा पनि बिओपी स्थापनाका लागि सिफारिस गरी पठाएको थियो। गोरखाको छेकम्पार र साम्दोमा बिओपी राख्ने सरकारको निर्णय भए पनि अहिलेसम्म स्थापनाका लागि भने कुनै पहल भएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय