असार ३२
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपाली भूमि प्रयोग गर्न चाहेको दाबी गरेका छन्।
राजधानीमा शनिबार आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’ छलफलमा भाग लिँदै नेता श्रेष्ठले यस्तो भनेका हुन्।



‘अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहन्छ’, उनले भने, ‘अग्रशक्तिको रुपमा रहेको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ।’
तर नेपाल ठीक दिशातिर नगइरहेको पनि श्रेष्ठले बताए। ‘तर हामी कता जाँदैछौँ, हामी ठीक दिशातिर गइरहेको अनुभूति हुँदैन’, उनले भने, ’हामी स्वतन्त्र नीतिबाट विचलित हुन लागिरहेका त छैनौं?’
उनले हामीलाई पुर्खाले छाडेका गौरवशाली देश र राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि प्रश्न उठ्न थालेको पनि बताए।
’विश्वको परिस्थिति, हाम्रा छिमेकी, नव उदारीकरण, नव औपनिवेशीकरण र शीतयुद्धको नयाँ सन्दर्भलाई समेत अगाडि राखेर विश्लेषण गर्नुपर्ने आवश्यकता छ’, श्रेष्ठले भने।



