चालकलाई सेवाबाट निकालेको विषयमा गाउँलेले गरेको आक्रमणमा दुई जना नेपाली र पाँच जना चिनियाँ घाइते

२०८२ फाल्गुन ११, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

फागुन ११
सिन्धुलीमा आज चिनियाँ कर्मचारीमाथि कम्पनीका नेपाली चालक र गाउँलेले गरेको आक्रमणले दुई जना नेपाली र पाँच जना चिनियाँ घाइते भएका छन् । केही समयअघि सेवाबाट हटाइएका चालकले जबर्जस्ती गरेपछि उत्पन्न परिस्थितिमा घाइते पाँच जना चिनियाँमध्ये तीन जनालाई काठमाडौंमा ल्याएर उपचार गराइँदैछ ।
सिन्धुलीको मरिण गाउँपालिका–४, सहानस्थित चिनियाँ लगानीको हिमालयन फुड कम्पनीका नेपाली चालक र चिनियाँहरुबीच आज भएको झडपमा दुई जना नेपाली र पाँच जना चिनियाँ घाइते भएका छन् । मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जन,उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोकर्ण कटुवाल घाइते छन् । कम्पनीमा कार्यरत चिनियाँमध्ये ३८ वर्षीय याङ, ४५ वर्षीय याङ हाईबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सीको टाउको,हात,छाती, मुखमा चोट लागेको र उनीहरुमध्ये तीन जनाको एमआरआई गर्नुपर्ने भएपछि राजधानी ल्याइएको प्रहरीले बताएको छ ।
चालक नवराज बम्जनलाई सेवाबाट निकालेको विषयलाई लिएर उनको उक्साहटमा स्थानीय कुटपिटमा उत्रेको भनिएको छ । नेपाली राँगाको मासु प्रशोधन गरेर चीन निर्यातका लागि उक्त कारखाना तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदा दुई वर्षअघि भएको सहमतिअनुसार खोलिएको हो । नेपालको पछिल्लो राजनीतिक अस्थिरताले खलबलाएको वैदेशिक लगानीको वातावरणलाई आजको घटनाले झन् गहिरो बनाउने सम्भावना बढेको स्थानीय पत्रकारहरुले बताए ।
कुटपिटपछि इलाका प्रहरी कार्यालय कपिलाकोटमा भएको छलफलमा सहभागी एक जना जनप्रतिनिधिका अनुसार चालक नवराज लामो समय बिदा बसेपछि चिनियाँहरुले हटाएका थिए । त्यसपछि गोकर्ण कटुवाल नियुक्त भएको अवस्थामा नवराज हिजो काममा फर्केर गाडी चलाउन खोजे । चिनियाँहरुले यसबीचको सबै सुविधा र तलब दिएको जनाउँदै चालकमा पुनः नियुक्ति दिन नसकिने जवाफ दिएको बताइन्छ ।
आज बिहान कम्पनीका चिनियाँ कर्मचारीहरुले नयाँ चालकसहित गाडी लिएर बाहिर जान लागेपछि नवराजले साँचो थुतेर अवरोध पुर्याएको चिनियाँ पक्षको दाबी छ । आफूलाई चिनियाँले कुटेको भन्दै एकछिनपछि गाउँलेहरु उठाएर ल्याएपछि कारखानास्थल रणभूमिमा परिणत भएको थियो । उनीहरुले चिनियाँको टाउको र अनुहारमा रड प्रहार गरेकाले गहिरो चोट लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय