भैरहवा भदौ १२
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन् । भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको छ ।
यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समयसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान संचालन हुन नसकेका बिमानस्थल हुन् । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै पोखराबाट अष्ट्रेलिया उडान गर्ने तयारी गरेको हो । सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । यसका लागि सो एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताएका छन् ।उनका अनुसार यस वारेमा अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी प्राधिकरणले गरेको छ । आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना छ । ‘सिचुवान एयरलाइन्सले पोखराबाट अष्टे«लिया उडान गर्ने योजना बनाएको र पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ’, भुलले भने। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालनको तयारी गरेका छन् । यी दुवै एयरलाइन्सले विगतमापनि भैरहवामा उडान गरेर स्थगित गरेका हुन् । थाई एयर एसियाले अक्टोबर २६ देखि हप्तामा दुई उडान गर्ने गरि उडान गर्ने तयारी गरेको हो । जजिरा एयरले पनि विन्टर विन्टर सिजनमा उडान गर्ने योजना बनाएको छ ।यतिबेला भैरहवाबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान नियमित संचालनमा छैनन् । काठमाडौं मलेसिया र मलेसियाबाट भैरहवा उडान गरिरहेको नेपाल एयरलाइन्सले विमानको अभाव जनाउँदै उडान स्थगित गरेको छ । गौतमबुद्ध विमानस्थलमा विभिन्न चार्टर्ड उडान सञ्चालन भइरहेका छन् । प्राधिकरणका सूचना अधिकारी भूलले हिउँदे सिजनबाट थाई एयर एसिया र जजिरा एयरलाइन्सले पुनः नियमित उडान गर्ने जनाए। भैहरवाबाट जजिरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुवै विमानस्थलमा अरू विदेशी वायुसेवापनि आकर्षित हुने भनाइ प्राधिकरणको छ । जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरिसकेको छ । वि.सं २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरेको यस वायुसेवाले त्यसअघि साढे दुई महिना उडान गरेर प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो ।
पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ । भने, दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा पार्किङ ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ ।






