आगलागी पीडितलाई नेपाल–भारत मैत्रीसंघद्वारा राहत वितरण

२०८२ असार १९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

असार १९
गत जेठ २३ गते शुक्रबार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा भएको विनाशकारी आगलागीबाट विस्थापित ४० परिवारलाई नेपाल–भारत मैत्रीसंघले राहतस्वरूप खाद्यान्न र आवश्यक सामाग्री वितरण गरेको छ।
सुदूरपश्चिम प्रदेश धनगढी को समन्वयमा आयोजित राहत कार्यक्रम अन्तर्गत नेपाल–भारत मैत्रीसंघ केन्द्रीय कार्यालयले उक्त सहयोग उपलब्ध गराएको हो। राहत वितरण कार्यक्रम बुढीगङ्गा नगरपालिका–७ का वडा अध्यक्ष भवनसिंह केसीको रोहबरमा सम्पन्न गरिएको थियो।
मैत्रीसंघका उपाध्यक्ष हरिशंकर ठाकुरका अनुसार आगलागीबाट जलेर नष्ट भएका घरधुरीलाई तत्कालिक राहतस्वरूप प्रति परिवार एक बोरा चामल, दुई केजी दाल, एक केजी चिनी, एक दर्जन साबुन, एक प्याकेट सरफ, एक थान कम्बल र एक थान त्रिपाल वितरण गरिएको हो।
उपाध्यक्ष ठाकुरले भने, “दुःखद् परिस्थितिमा परेका परिवारहरूप्रति सहयोगका हात बढाउनु हाम्रो सामाजिक जिम्मेवारी हो। हामी सधैं यस्ता विपद्का घडीमा सँगै उभिन तयार छौं।”
बाम्का बजारको घनाबस्तीमा फैलिएको आगोले स्थानीयको दैनिक जीवन तहसनहस बनाएको थियो। पूर्णरूपमा घरवार गुमाएका पीडितहरूले सहयोगप्रति आभार व्यक्त गरेका छन्। स्थानीय सरकार र अन्य संघसंस्थाबाट थप राहतको अपेक्षा गरिएको छ।
यस राहत वितरणले पीडितहरूलाई केही हदसम्म राहत दिलाए पनि दीर्घकालीन पुनर्निर्माणका लागि राज्यस्तरको थप पहल आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय