असार ११
भारतले ’नेबरहुड फस्र्ट’ नीति अनुरूप दुई नेपाली नागरिकको इरानबाट सुरक्षित उद्धार गरेको छ। ’अपरेसन सिन्धु’ अन्तर्गत भारतले आफ्ना नागरिकसँगै नेपाली नागरिकको पनि उद्धार गर्दै नेपाल–भारतबीचको लामो समयदेखिको आपसी मित्रता र सहयोगको सम्बन्धलाई अझ बलियो बनाएको छ।
इरानमा हाल उत्पन्न सुरक्षा जटिलताका कारण भारतले आफ्ना नागरिकको सुरक्षाका लागि विशेष उद्धार अपरेसन सञ्चालन गरेको थियो। सोही क्रममा दुई नेपाली नागरिकलाई पनि सुरक्षित रूपमा बाहिर ल्याइएको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ।



भारतीय विदेश मन्त्रालयले उद्धारलाई नेपाल–भारतबीचको “दीर्घकालीन मित्रता र आपसी भरोसाको परिचायक“ को रूपमा व्याख्या गरेको छ। ’नेबरहुड फस्र्ट’ नीति भारतको प्राथमिक कूटनीतिक रणनीतिमा पर्दछ, जसअन्तर्गत छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राखिन्छ।
नेपालस्थित भारतीय दूतावासले पनि उद्धार कार्यप्रति सन्तोष व्यक्त गर्दै भविष्यमा पनि नेपालसँगको मित्रवत सम्बन्धमा भारत निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
यसअघि पनि विपद् वा संकटको घडीमा भारतले नेपाली नागरिकलाई उद्धार गर्ने तथा सहयोग उपलब्ध गराउने प्रयास गर्दै आएको इतिहास छ। यो पछिल्लो कदमले दुई देशबीचको आपसी समझदारी र मानवीय सहयोगको सम्बन्धलाई पुनः पुष्टि गरेको छ।



