असार ७
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी छन् । नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा शनिबार आयोजना गरिएको ‘अ विन्डो टु चाइना सिजाङ’ कार्यक्रमलाई सम्बोधन गर्दै एक चीन नीति प्रतिको प्रतिबद्धता दोहो¥याएकी हुन्।
उपाध्यक्ष घिमिरेले एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव नपार्ने बताउँदै हाम्रो भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहो¥याइन् ।‘नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ’, उनले भनिन्, ‘हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, हाम्रो भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहो¥याउन चाहन्छौँ।’
उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै भेटले नेपाल–चीन सम्बन्धका बारेमा जानकारी आदानप्रदानका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन र पारस्परिक हितका लागि सहयोग गर्ने विषयमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताइन् ।
तिब्बत आफैमा चित्रकला त्यसमा पनि बौद्ध धर्म सम्बन्धी कला सामाग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोकसंगीत, नृत्यका कारण धनी रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यो कार्यक्रमले हिमाली सौन्दर्य, परम्परा र परिवर्तन जस्ता विषयवस्तुका बारेमा सबैलाई जानकारी गराउन तथा तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
नेपालकी राजकुमारी भृकुटी र तिब्बती राजा सोंछेन गम्पोबिचको विवाहले नेपाली कला र संस्कृतिलाई तिब्बतमा प्रवाह गरेको बताउँदै तिब्बत केवल चीनको आँखी झ्याल होइन यो सांस्कृतिक, धार्मिक र मानवताको एउटा अनुपम विरासत रहेको उनको भनाई थियो ।
चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिस्ट पार्टीका सचिव महामहिम वाङ जुनझेङलडे दुई वर्ष अघि गरेको नेपाल भ्रमणपछि तिब्बतसँग जोडिएका नाकाहरू सञ्चालन भएको, तिब्बतमा घाँस निर्यात भएको तथा पोखराबाट ल्हासा सम्म हिमालय एयरलाइन्सले सिधा उडान सुरु गरेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यसलाई निरन्तरता दिँदै चीनका बाँकी सहरमा पनि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान नियमित गर्न सकेमा चीनले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ लाई सार्थक बनाउन सकिने विश्वास लिएको जिकिर गरिन।






