जेठ ७
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता र सार्वजनिक लेखा समितिको उपसमिति प्रतिवेदनमाथि चिनियाँ ठेकेदार कम्पनीले जारी गरेको विज्ञप्ति गोरखापत्र दैनिकमा प्रकाशित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा आपत्ति जनाएको छ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै रास्वपाका सांसद मनिष झाले सो विज्ञप्ति छापिएको विषयलाई “गम्भीर र आपत्तिजनक” भन्दै प्रश्न उठाए। उनले भने, “नेपाली जनताको करले सञ्चालित एउटा राष्ट्रिय दैनिकले यस्तो भाषा प्रयोग गरिएको विज्ञप्ति किन छाप्यो? सम्पादक र प्रधान सम्पादकबाट स्पष्टीकरण सोध्नुपर्छ।”
झाले सो विज्ञप्तिमा सार्वभौम संसदको उपसमितिमाथि अपमानजनक शब्दावली प्रयोग गरिएको भन्दै गोरखापत्र संस्थानलाई नै जिम्मेवार ठहर गरे। “यदि पैसा पाएजति जे पनि छाप्ने हो भने करदाताको पैसाले सञ्चालित मिडियाको जवाफदेहिता कहाँ गयो?” उनले आक्रोश व्यक्त गर्दै भने, “भोलि जुनसुकै विदेशी कम्पनीले संसदलाई गाली गर्न सक्छ, आज हामी चुप लाग्यौं भने त्यो हाम्रो मौन सहमति बन्न जान्छ।”



सांसद झाले चिनियाँ ठेकेदार कम्पनी र गोरखापत्र दुवैसँग औपचारिक स्पष्टीकरण माग गर्दै संसद र पत्रकारिताको गरिमा रक्षा गर्न समितिको ध्यानाकर्षण गराए। उनले प्रश्न गरे, “यसरी विदेशी ठेकेदारले संसदलाई चुनौती दिने भाषा प्रयोग गर्ने अधिकार कहाँबाट पायो?”
पोखरा विमानस्थल निर्माणमा चिनियाँ ठेकेदार कम्पनीको संलग्नता र सार्वजनिक लेखा उपसमितिको प्रतिवेदनले उठाएको विषय अहिले संसदीय बहसको केन्द्रमा छ। विज्ञप्तिमार्फत प्रतिवेदनको आलोचना भएको भन्दै यसको प्रकाशन सार्वजनिक सञ्चार माध्यमले गर्नु उपयुक्त हो कि होइन भन्ने बहस चुलिएको छ।



