रेल जनकपुर आइपुग्दा स्थानीयवासी खुसी

२०७८ चैत्र १९, शनिबार
पढ्ने समय : 2 मिनेट

चैत १९,
– लामो समयको प्रतीक्षापछि धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म को रेल्वे खण्ड चल्ने रेल सेवाको उद्घाटन सँगै रेल जनकपुर आइपुगेको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसबाट भर्चुअल रूपमा संयुक्त रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गर्नुभएको थियो ।

रेल जनकपुर आएसँगै स्थानीयवासी उत्साहित भएका छन् । रेल जनकपुर आउँदा स्टेशनमा रहेका सर्वसाधारणहरूले उत्साहित भएर स्वागत गरेका थिए ।

नयाँ दिल्लीमा रेल उद्घाटनको प्रत्यक्ष प्रसारण जनकपुर रेल्वे स्टेशनमा निर्माण गरिएको प्रोजेक्टरमा देखाइएको थियो । कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत सहभागी हुनुभएको थियो ।

अब यो रेल आइतवारदेखि नियमित सञ्चालन हुनेछ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दुरीमा रेल सञ्चालन हुनेछ । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भङ्गहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ ।

विक्रम संवत १९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लैजानका लागि रेल्वे लाइन विस्तार गरिएको थियो । त्यो बेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो । पछि भारत सरकारले १८ वटा बग्गीसहित वाष्प इन्जिन सहयोग गरेको थियो । भने सो सेवा २०६१ माघबाट बन्द भएको थियो । अहिले न्यारोगेजबाट ब्रोडगेजमा परिणत गरिएको छ । त्यही अनुसारको तयारी गरिएको छ ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गएको २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको बताइएको छ ।

कुर्था–जयनगरसम्मको ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि सामान्य सिटका लागि ९० र वातावरण अनुकूलित (एसी) सिट सुविधाका लागि चार सय ५० रुपैयाँको टिकट तोकिएको छ । जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट ७० र एसीमा तीन सय ७० रुपैयाँको टिकट कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय