काम नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल लाई हस्तान्तरण

२०७८ चैत्र १३, आईतवार
पढ्ने समय : 2 मिनेट

चैत १३

ः चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागितामा तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी ले विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए। उनले परराष्ट्रमन्त्री नारायण खड्कालाई साँचो हस्तान्तरण गरेका थिए ।
काम नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गरेको भन्दै चिनियाँ प्रतिनिधिहरु असन्तुष्ट रहेको बताइएको छ। यता पर्यटन मन्त्रालयका अधिकारीहरुले पनि असन्तुष्टि पोखेको स्रोतले जानकारी दियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ९३ प्रतिशत काम सकिएको बताए। उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतका काम रहेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ । भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

यसअघि गृहमन्त्री बालकृष्ण खाँणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागतमा प्रश्न उठाएका थिए। उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल भन्दा सानो रहेको पोखराको विमानस्थलमा कसरी धेरै लागत लाग्यो भन्दै प्रश्न उठाएका थिए।

नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा भैरहवा विमानस्थलको मूल्य तीन हजार मिटर धावन मार्गको मुआब्जाबाहेक लागत ७ अर्ब हुँदा पोखरा विमानस्थलको धावनमार्ग २५ सय मिटर बनाउन २१ अर्ब लागेको भन्दै उनले प्रश्न उठाएका थिए।

गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने तयारी भए पनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको थियो । उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी परराष्ट्रमन्त्री डा नारायण खड्कालाई बुझाएका छन्। शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेपछि विमानस्थलको चाबी चीनले बुझाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो। पोखरा विमानस्थल विस्तार तथा स्तरोन्नति भएपछि यसलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको छ।

चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो। सोही ऋणमार्फत अहिले विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। ५ अर्ब ४० करोड रुपैयाँको ब्याज तिर्नु नपर्ने गरी सम्झौता भएको थियो।

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असार देखि विमानस्थलको काम सुरु गरेको थियो। विमानस्थल निर्माणअन्तर्गत अन्तिम चरणका काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय