रुस र चीनबीच बढ्दो घनिष्टताबीच दुई देश जोड्ने पहिलो पुल सुचारु

२०७९ जेष्ठ ३१, मंगलवार
पढ्ने समय : < 1 मिनेट

जेठ ३१
रुस र चीनले सुदूर पूर्वी क्षेत्रमा पहिलो अन्तर सिमाना पुल सुचारु गरेका छन् । रुसले पश्चिमी देशको प्रतिबन्ध झेलिरहँदा चीनसँगको नयाँ सम्पर्क सेतुले दुई देशबीचको व्यापार वृद्धि हुने अपेक्षा गरिएको छ । अमुर नदी (चिनियाँ भाषामा हेइलङजियाङ)मा बनेको एक किलोमिटर लामो पुलले रुसी सहर ब्लागोभेस्चेन्स्कलाई चिनियाँ सहर हेईहेलाई जोड्छ ।
३४.२ करोड डलरमा बनेको पुलले मस्को र बेइजिङलाई थप नजिक ल्याउने रुसी अधिकारीले बताए । ‘आजको विभाजित विश्वमा रुस र चीनबीच बनेको ब्लागोभेश्चेन्स्क–हेईहे पुलले विशेष सांकेतिक अर्थ बोक्छ,’ रसको सुदूर पूर्वका अधिकारी युरी ट्रट्नेभले भने ।
उद्घाटन समारोहमा चीन तर्फबाट उपप्रधानमन्त्री हु चुन्हुआ उपस्थित थिए । हुले ‘चीन रुससँग सम्पूर्ण क्षेत्रमा साझेदारी विकास गर्न इच्छुक’ रहेको बताए । रुसका यातायात मन्त्री भिटाली सेभेलीएभले पुलले दुई देशबीचको व्यापार १० लाख टनभन्दा माथि वृद्धि गर्ने बताए ।
सन् २०१६ देखि बन्न थालेको पुलको निर्माण सन् २०२० मे मा सम्पन्न भएको थियो । तर कोभिड–१९ को विस्तार रोक्न लागू प्रतिवन्धका कारण पुलको उद्घाटनमा बिलम्ब हुन पुगेको थियो । रुसी भागमा पुल निर्माणमा संलग्न कम्पनी बीटीएस–एमओएसटीका अनुसार पुलले चीनबाट पश्चिम रुसमा ढुवानी हुने सामानका लागि १५०० किमी छोट्टयाउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय