भारतीय सहयोगमा लालबन्दीमा विद्यालय भवन

२०७९ जेष्ठ २९, आईतवार
पढ्ने समय : < 1 मिनेट

जेठ २९
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको सर्लाहीको लालबन्दीस्थित श्रीफौद सिंह जनता मावि भवन उद्घाटन भएको छ । मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह (सुडी) तथा वीरगन्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् ।

शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रम अन्तर्गत भवन निर्माण गरिएको भारतीय महावाणिज्य दूतावासले जनाएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगन्जका जनतालगायत सरोकारवालाहरू उपस्थित थिए । ७८ लाख ३० हजार रुपियाँमा निर्माण भएको भवन भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने आजादीका अमृत महोत्सव अन्तर्गत नेपालमा यसवर्ष उद्घाटन गरिने परियोजनामध्येको एक हो । नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।

महावाणिज्य दूतावास का अनुसार ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको अनुदान पन्ध्रवटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधासहितको दुईतले विद्यालय भवन निर्माण भएको हो । भारतले नेपालमा हालसम्म ५२७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ ।

सातवटै प्रदेशहरूकै तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, पहुँच, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा जम्मा ४७१ परियोजना निर्माण सम्पन्न गरेको छ । यीमध्ये सर्लाहीमा मात्रै २० आयोजना छन् । भारत सरकारले विभिन्न स्वास्थ्य चौकी र एनजीओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एउटा स्कुल बस उपहार दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय