विमानस्थलमा ट्याक्सी समितिका मानिसबाट धम्की आएको भन्दै बुटवल ट्याक्सी सेवाले माग्यो सुरक्षा

२०८३ बैशाख २३, बुधबार
पढ्ने समय : 2 मिनेट

 

भैरहवा बैशाख २३
वुटवल ट्याक्सी सेवा प्रालिले आफ्ना चालकहरुमाथि विभिन्न धाकधम्की आइरहेको भन्दै सरकारसँग शान्ति–सुरक्षा माग गरेको छ । खासगरी गौतमबुद्ध विमानस्थल भित्र रहेको ट्याक्सी समितिका पदाधिकारीहरुले आफूहरुलाई धम्क्याउने गरेको भन्दै उक्त प्रालिले भरपर्दो सुरक्षा माग गरेको हो ।
बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई ज्ञापन पत्र बुझाउँदै उक्त समितिले शान्ति सुरक्षा कायम गरी विमानस्थल भित्र आफूहरुका ट्याक्सी निर्वाध चल्न पाउने व्यवस्था मिलाउन माग गरेको छ।
प्रालिका अध्यक्ष विजय कुँवरले यसअघि पनि निवेदन दिएर आफूहरुका चालकहरुले भोगेको समस्याबारे जानकारी गराएको स्मरण गराउँदै तत्काल आवश्यक कारबाही प्रक्रिया अघि बढाउन माग गरे ।‘हाम्रो संस्था सरकारको निकायमा दर्ता भई राजश्व बुझाई सञ्चालनमा छ । यस संस्था मार्फत यात्रुको माग, समयको आवश्यकतालाई ध्यानमा राख्दै परिस्थिति र ठाउँ अनुकुल स्तरीय सेवा दिनका निमित्त उचित भाडामा पेट्रोल तथा इलेक्ट्रिक भाडा कारहरु ई–ड्राइभ लुम्बिनी नेपाल प्रालिको एप प्रयोग गरी अनलाइन तथा अफ लाइन मार्फत संचालन हुँदै आएका छन्’, ज्ञापन पत्रमा भनिएको छ, ‘यात्रुहरूलाई सस्तो, सर्वसुलभ, सुरक्षित सवारी सुविधा प्रदान गरी सयौंको संख्यामा नेपाली दाजुभाईलाई रोजगारीको अवसर सिर्जना गरिएको ज्वलन्त उदाहरण सवैमा सर्वविदितै छ । तर पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रा गाडीले हैरानी भोगिरहेका छन् । चालकलाई दुःख दिने काम भएको छ ।’
उक्त संस्थाले आफूहरुका भाडाका सवारी साधनहरूलाई एयरपोर्ट भित्र रहेका ट्याक्सी समितिका पदाधिकारी तथा ट्याक्सी चालकहरूले भित्र पार्किङ स्थलमा बस्न नदिने, बाहिर सडकको छेउछाउ, चार्जिङ स्टेशनमा बस्दा पनि चालकहरूमाई विभिन्न धाकधम्की दिने, हातपात गर्ने, एयरपोर्ट आसपास एरियामा रहन बस्न नदिने गरेको जनाएको छ ।
‘यात्रुहरू ओसार पसारमा समेत बाधा पुर्याउँदै अशान्ति मच्चाउंदै आएकाले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरि दिन हाम्रो अनुरोध छ’, ज्ञापन पत्रमा भनिएको छ, ‘यसअघि २०८२ जेठ १४ गते यस कार्यालयमा निवेदन दिएकोमा सो निवेदन उपर सुनुवाई नभएको र हालसम्म पनि हाम्रा चालक माथि सोही किसिमका गतिविधिहरू भइरहेकाले चालकहरुको शान्ति सुरक्षा, सहज रुपमा सेवा प्रदान गर्ने परिस्थिति कायम गरी पाउँ ।’
अध्यक्ष कुँवरले राज्यको नीतिनियममा रही जो कोहीले जुनसुकै ठाउँमा सेवा दिन पाउने भन्दै आफूहरुका ट्याक्सी चालकमाथि भइरहेको व्यवहार निन्दीय रहेको जनाए । उनले प्रशासनले शान्तिसुरक्षाको ग्यारेन्टी गर्ने जनाएकाले अबका दिनमा त्यस्ता गैरकानूनी गतिविधि नहुने विश्वास व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले वास्तविकता बुझेर आवश्यक समन्वय गर्ने जनाए । ‘नियमअनुसार चल्न पाउने ठाउँमा ट्याक्सी सबैका चल्न पाउँछन्, कसैले मेरो मात्रै चलाउँछु, तिम्रो नचलाउन भन्न पाउँदैन’, उनले भने, ‘शान्ति सुरक्षाको ग्यारेन्टी गर्छौं, ढुक्क भएर सेवा दिनुस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय