भैरहवा बैशाख २१
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिका–११, कालिकानगरबाट ठूलो परिमाणमा हुक्का तथा भेप गोदाम नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार हुक्का भेप सञ्चालनमा प्रयोग हुने विभिन्न सामाग्री भण्डारण गरिएको सूचना पाएपछि खटिएको टोलीले छापा मार्दा करिब ४३ लाख १२ हजार रुपैयाँको भेप बरामद गरिएको हो । प्रहरीले गोदामका सन्चालक पिङ्कु जैसवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाएको छ ।
बरामद गरिएको सामाग्रीमा १ सय ५७ वटा हुक्का भेप, १ हजार ४ सय २९ वटा कोइला, ५ सय ५२ वटा फ्लेभर, १ सय ६० वटा हुक्का सेट, ३२ वटा बेस, ४५ वटा एअर ब्लोअर, ६ सय वटा पाइप, १ सय वटा लाइट, ३ सय वटा चिलिम र २२ वटा हिटर रहेका छन् ।
प्रहरीले यस्ता अवैध तथा स्वास्थ्यमा प्रतिकूल असर पार्ने सामाग्रीको कारोबार रोक्न अभियानलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ । भेप वा इलेक्ट्रोनिक सिगरेट प्रयोग जनस्वास्थ्यका हिसाबले गम्भीर मानिन्छ ।
युवा र किशोर किशोरीहरु फ्लेभर र फेसनको रूपमा प्रयोग भेप प्रयोग गर्ने गरेको पाइन्छ । धूम्रपान गर्नेहरु चुरोट छोड्ने विकल्पको रुपमा भेपलाई प्रयोग गर्ने गर्छन् ।
प्रायः भेपमा निकोटिन हुन्छ, जसले सेवनकर्तालाई अरु धु्रमपानको जस्तै लत बसाउँछ । यसको प्रयोगले फोक्सोमा असर, हृदयसम्बन्धी जोखिम, मुटुको धड्कन र रक्तचाप बढाउने चिकित्सकहरु बताउँछन् ।






