भैरहवा फागुन ४
भैरहवामा सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले सोमवारदेखि मानसिक रोग र पेट तथा कलेजो रोग विभाग सञ्चालनमा ल्याएको छ ।
उक्त अस्पतालले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न रोगको स्थानीय स्तरमैं बिशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्यसहित मानसिक रोग र पेट तथा कलेजो रोगको बिशेषज्ञ उपचार सेवा सञ्चालन गरिएको जानकारी दिएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले हाल दिन प्रतिदिन विभिन्न कारणले मानसिक स्वास्थ्य समस्याका बिरामीको सँख्या तिब्र रुपमा बढिरहेको र अधिकाँश बिरामीले बिशेषज्ञ उपचार पाउन नसकेको अवस्थालाई मध्यनजर राख्दै बिशेषज्ञ सहितको उपचार सुरु गरिएको बताए । ‘यस क्षेत्रका धेरै मानसिक बिरामीको उपचार प्रकृयामा बिशेषज्ञ चिकित्सकसँगको पहुँच अति कम देखिएको छ’ पौडेलले भने, ‘मानसिक बिरामीको उपचारका लागि नियमित ओपीडीसेवासँगै २४ सै घण्टा बिरामी भर्ना तथा गोप्य परामर्श सेवाकोपनि व्यवस्था गरिएको छ ।’
मानसिक विरामीको उपचारका लागि डा.संजिव रंजन सहितको टोली उपचारका लागि खटिएको छ । रंजन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, युनिभर्सल शिक्षण अस्पताल भैरहवा लगायतका अस्पतालबाट अनुभव प्राप्त मनोचिकित्सक परामर्शदाता हुन्। मानसिक रोग सेवा अन्तर्गत डिप्रेसन, चिन्ता, तनाव, निन्दा सम्बन्धि समस्या, डर, व्यवहारिक समस्या, लागूऔषध दुरुपयोग तथा अन्य मानसिक स्वास्थ्यसम्बन्धि रोगहरुको परामर्श, उपचार र फलोअप सेवा उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ ।
यसैगरी उक्त अस्पतालले पाचन प्रणाली, पेट तथा कलेजो सम्बन्धि रोगका विरामीलाई लक्षित गरि अत्याधुनिक बिशेषज्ञ सेवा अन्तर्गत इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सहितको बिशेषज्ञ सेवापनि सञ्चालनमा ल्याएको छ । इन्डोस्कोपी र कोलानोेस्कोपी जापानमा निर्मित उच्च प्रबिधिको रहेको दावी अस्पतालको छ ।
पाचन प्रणाली, पेट तथा कलेजो सम्बन्धि रोगको उपचारका लागि डा.मनिश विश्वकर्मा सहितको टोली संलग्न छ । पेट दुख्ने, ग्याष्ट्रिक, अल्सर, कलेजो सम्बन्धि रोग, जन्डिस, आन्द्रा सम्बन्धि समस्या तथा पाचन प्रणालीका विभन्न रोगको परीक्षण र उपचार हुने जनाइएको छ ।
अस्पतालका अध्यक्ष तथा मृगौला रोग बिशेषज्ञ डा.सुबोध पाण्डेले यी सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीले बिशेषज्ञ उपचारका लागि अन्यत्र टाढाका सहरमा जानु पर्ने बाध्यता हटेको र बिरामीमैत्री वातावरण र सुलभ शुल्कमा उपचार सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।






