रुपन्देहीमा फागुन महिनामा १सय१३ फरार प्रतिवादी पक्राउ

२०८१ चैत्र ३, सोमबार
पढ्ने समय : 2 मिनेट

भैरहवा चैत ४
रुपन्देही प्रहरीले २०८१ को फागुन महिनामा १ सय १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना सजायको फैसला भइ फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
१सय१३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गर्दा उनीहरुबाट १७ वर्ष २८ दिन कैद सजाय र २५ लाख ६६ हजार १ सय ५६ रुपैयाँ जरिवाना असुलउपर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालयले आइतबार भैरहवामा आयोजना गरेको मासिक पत्रकार भेटघाट कार्यक्रममा डीएसपी कार्कीले फैसलापछिको अवधिको आधारमा फागुन महिनामा २० वर्षपछि १७, १५ वर्षपछि ९, १० वर्षपछि २९, ५ वर्षपछि ४० र ५ वर्षभन्दा कम १८ जना पक्राउ गरिएको बताए ।
त्यस्तै रुपन्देही प्रहरीले फागुन महिनामा मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने ६ जना रुपन्देहीकै हुन् । उनीहरुबाट पाँचवटा मोटरसाईकल÷स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ ।

फागुनमा लागूऔषध ओसारपसार र कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अभौतिक मुद्राको कारोबारमा संलग्न ३ जनालाई बुटवलबाट पक्राउ गरेको छ ।
त्यस्तै हत्यामा संलग्न रही फरार दुईजना पक्राउ परेका छन् । त्यस्तै फागुनमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याइएको करिब १ करोड ८८ लाख ७ सय ८२ रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरी भैरहवा भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालय बुटवल पठाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय तथा मातहत युनिट गरी संयुक्त रुपमा गरिएका चेकिङमा ३ हजार ४ सय २८ सवारीसाधनलाई कारवाही गरिएको त्यसबाट ४० लाख २४ हजार ५ सय राजस्व संकलन भएको डीएसपी कार्कीले बताए । फागुनमा जिल्लामा ७ वटा आगलागीका घटना भएका छन् ।

एक महिनामा रुपन्देहीमा २७ वटा आत्महत्याका घटना भएका छन् । जसमध्ये झुण्डी २४ र विष सेवन गरी ३ जनाले आत्महत्या गरेका छन् । आमहत्या गर्नेमा सबैभन्दा बढी १९–२५ वर्ष उमेर समूहका छन् । सामाजिक संजाल, घरायसी समस्या, गरीबी, मादकपदार्थ तथा लागूऔषध सेवनका कारण, पारिवारिक बेमेल आमहत्याको प्रमुख कारण देखिएको डीएसपी कार्कीले बताए ।

उनले आत्महत्या न्यूनीकरणका लागि प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । ‘स्थानीय पालिकाहरुले निम्न आयस्तर भएका व्यक्तिहरुको आयस्तर वृद्धिका लागि पहल गरे आत्महत्या अझै न्यूनीकरण हुन सक्छ, ’डीएसपी कार्कीले भने ।

फागुनमा घरेलु हिंसासम्बन्धि ५१ वटा उजुरी दर्ता भएकोमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाबाट १३ वटा उजुरी दर्ता भएको रुपन्देही प्रहरीले जनाएको छ । यो महिनामा ६१ जना हराएकोमा २१ जना फेला परेका छन् ।

प्रहरी निरीक्षक सुमन गैह्रेको सञ्चालनमा मासिक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय